पाकिस्तानसँग भर्खरै पराजित भएको भारतले अब आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल दुबईमा हुनेछ । भारतले प्रतियोगिताको दोस्रो चरणमा पुग्ने संभावनामा बलियो बनाइराख्न यो खेल जित्नुपर्नेछ । तर, भारतले आईसीसीका कुनै पनि इभेन्टमा न्युजिल्यान्डलाई विगत १८ वर्षदेखि हराउन सकेको छैन । यसक्रममा टी २० विश्वकपदेखि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल समेत जोड्दा ७ वटा प्रतिस्पर्धा भइसकेका छन् । र, यसमा ६ वटा प्रतिस्पर्धामा न्युजिल्यान्ड विजयी भएको छ । त्यसैगरी एउटा खेल वर्षाका कारण प्रभावित भएको थियो । टी २० विश्वकपमा दुई टिमबीच दुईपटक प्रतिस्पर्धा भएको छ र दुबै पटक न्युजिल्यान्ड विजयी भएको छ ।
२००७ को टी २० विश्वकपमा न्युजिल्यान्डले भारतलाई १० रनले हराएको थियो । त्यसैगरी, २०१६ को टी २० विश्वकपमा ४७ रनले हराएको थियो ।