गृहयुद्धमा फस्नसक्ने इमरान खानको चेताउनी

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले समावेशी सरकार गठन नभए अफगानिस्तानमा पुनः गृहयुद्ध चर्किने चेताउनी दिएका छन्। प्रधानमन्त्री खानले बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्, यदि उनीहरूले सबै समूहहरूलाई सामेल गरेनन् भने कुनै पनि समय गृहयुद्ध शुरु हुनेछ । खानले गृहयुद्ध शुरु भएमा अफगानिस्तान अस्थिर र अस्तव्यस्त हुने भन्दै चिन्ता पनि व्यक्त गरेका छन् । यस (गृहयुद्ध) को अर्थ अफगानिस्तान अस्थिर, अस्तव्यस्त हुने र आतंकवादीका लागि उपयुक्त स्थान बन्ने शंका व्यक्त गर्दै, खानले भने, यो एउटा चिन्ताको विषय हो ।

‘ तालिबान नेतृत्वले केही शर्तहरु पूरा गरेपछि मात्रै आफूहरुले उनीहरुको सत्तालाई मान्यता दिने कुरो पनि खानले बताएका छन् । समावेशी सरकार गठन, मानव अधिकार तथा महिला अधिकारको सम्मान गरे मात्रै नयाँ सत्तालाई पाकिस्तानले मान्यता दिने खानको भनाइ थियो । खानले पाकिस्तानको सुरक्षामाथि खतरा निम्त्याउन सक्ने आतंकवादीका लागि अफगानिस्तान आश्रयस्थल बन्न नहुने तर्फ पनि तालिबान सजग हुनु पर्ने बताएका छन् ।

त्यस्तै, खानले अफगानी महिला एवं बालिकालाई शिक्षा हासेल गर्नबाट रोक्ने कार्य गैर-इस्लामिक भएको बताए । तालिबानले हालै बालिका / किशोरीलाई विद्यालय जानबाट रोकेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । खानले बालिकाहरु चाँडै नै विद्यालय जान सक्ने अवस्था सिर्जना हुनेमा आफू आशावादी रहेको पनि बताए । खानले भने सत्तामा आएपछि उनीहरु (तालिबान) ले दिएका अभिव्यक्ति निकै उत्साहजनक छन् अनि उनीहरुले महिलालाई विद्यालय जान दिनेछन् भन्ने मेरो धारणा छ महिलाले शिक्षा हासेल गर्नु हुन्न भन्ने कुरा इस्लामविपरीत छ। धर्मसँग यसको कुनै सम्बन्ध छैन । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले पनि समावेशी सरकार गठन, मानव अधिकार र महिला अधिकारप्रति नयाँ तालिबान सत्ता संवेदनशील हुनुपर्ने बताएका छन् । यी विषयहरु सम्बोधन भएपछि मात्रै अफगानिस्तानको नयाँ सत्तालाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिने कुरेशीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *