चोरीको काठसहित २ पक्राउ

चोरीको काठ तस्करी हुनअघि नै सालुगढ़ा वनविभाग रेञ्जको सक्रियतामा चोरीको काठ जफत गर्न सम्भव भयो । यस घटनामा दुईजना पक्रा परेको छ । काठ तस्करहरूले एउटा पिकअप भेनमा धानको भुसको बोरा भरेको थियो र त्यहीं बोरामुनि साल काठ लुकाएर तस्करी गर्ने फेरोमा थिए । तर विशेष सूत्रको आधारमा बिहीबार राति बेलाकोबाको मानतादारी नजीक वनकर्मीहरूले अभियान चलाएर सालुगढ़ा एमपीपी-१ रेञ्जका रेञ्जर सञ्जय दत्तको नेतृत्वमा एकाधिक साल काठ जफत गर्न सफल बनेको छ । उल्लेखनीय छ, गत मङ्गलवार राति पनि सालुगढ़ा वनविभाग रेञ्जले काठ तस्करी विरुद्ध चलाएको अभियानमा सैगुन काठसहित सात जनालाई पक्राउ गरेका थिए । पक्रा पर्ने हरूमा एकजना शुल्क विभागका र एकजना जीएसटीको उच्च पदस्थ अधिकारी थिए ।

उक्त सफलतापछि बिहीवार पुनः काठ तस्करसहित काठ उद्धार गर्न सफल भएको छ । वनविभाग सूत्र मार्फत थाहा लागे अनुसार, बिहीवार ओदलाबारीबाट एउटा पिकअप भेन मार्फत चोरीको साल काठ तस्करी गर्ने उद्देश्यमा ल्याइरहेका थिए । तर सालुगढ़ा वनविभागले अगावै जानकारी पाएर वनकर्मीहरूको एउटा टोली बेलाकोबाको मानतादारी पुगेर सन्देहजनक एउटा पिकअप भेन आइपुग्दा तिनीहरूले उक्त भेन रोकेर छानबीन गर्दा भुसको बोरामुनि १० वटा साल काठको लट्ठा लुकाएर राखेको पाए। भेनभित्र काठको लट्ठा जुन प्रकारले लुकाएर राखेको थियो सहजै ठिम्याउन गाह्रो थियो । काठ तस्करी घटनामा पक्रा परेका अभिजित दे सरकार र चार्जर कुजुर दुवै सिलगढ़ी महकु माको खोरीबारी निवासी हुन् ।रेञ्जर सञ्जय दत्तले भने, पक्रा पर्नेहरूलाई केरकार गरेर तिनीहरूले उक्त साल काठ ओदलाबारीबाट ल्याएका थिए र सिलगढ़ीको मेडिकल मोड़ अञ्चलतर्फ लगिरहेका थिए भनेर थाहा पाए ।

उद्धार भएको काठको मूल्य ५ लाखभन्दा धेर छ भन्ने अनुमान छ । चोरीको काठ तस्करी काण्डमा स्थानीय गिरोहहरू संलग्न छ भन्ने वन अधिकारीहरूको भनाइ छ। गत मङ्गलवार राति जफत गरिएको काठ सिलगढीदेखि कलकत्तातर्फ तस्करी गर्ने उद्देश्यमा थिए । जफत गरिएको उक्त काठको बजार मूल्य २५ लाखभन्दा धेर छ । काठ तस्करहरूले उक्त काठ मेघालयबाट सिलगढीमा ल्याएका थिए र कलकत्तामा तस्करी गर्ने फेरोमा थिए । काठ तस्करी घटनामा अन्तर राज्य काठ तस्करी गिरोह संलग्न रहेको वनविभागले जानकारी पाएको छ । राति ९ बजीपछि कर्फ्यू लागू हुने गरेकोले तस्करहरूले यसैको लाभ उठाउँदै काठ तस्करी गरिरहेको वनविभागको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *