फ्रान्स, अर्जेन्टिना र जापानलाई सफलता

 टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा फ्रान्स, अर्जेन्टिना र जापानले सफलता हात पारेका छन् । खेलमा तीनपटक पछि परे पनि फ्रान्सको यू–२३ टोलीले पुनरागमन गर्दै दक्षिण अफ्रिकाको युवा टोलीमाथि ४–३ को प्रतिस्पर्धात्मक जित हात पारेको हो ।

फ्रान्स पहिलो खेलमा मेक्सिकोसँग ४–१ ले पराजित भएको थियो । दक्षिण अफ्रिकाका लुथर सिंहले पेनाल्टी चुकाउँदा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । सबै ७ गोल दोस्रो हाफमा सम्भव भएको थियो । फ्रान्सका लागि आन्द्रे पिएरे जिग्नाकले ह्याट्रिक पूरा गर्दा तेजी साभानिएरले विजयी गोल गरेका थिए । अफ्रिकाका कोवामेलो कोडिसाङ, इभिडेन्स माकगोपा र टेवोहो मोकोइनाले गोल गरे ।

पहिलो जितसँगै फ्रान्सले नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । फ्रान्सको दुई खेलबाट ३ अंक छ । शीर्षस्थानमा रहेको जापानको दुई खेलबाट ६ अंक छ । मेक्सिकोको ३ अंक छ । दक्षिण अफ्रिका अंकविहीन हुँदै पुछारमा छ । यही समूहको अर्काे खेलमा आयोजक जापानले मेक्सिकोमाथि २–१ को जित निकालेको छ । जापानको जितमा ताकेफुसा कुवो र रिट्सु डोआनले गोल गरे । मेक्सिकोका रोबर्टाे अल्भार्डाेले एक गोल फर्काए । मेक्सिको ६८औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । जापानले पहिलो हाफको ११ मिनेटभित्र नै दुई गोलको अग्रता लिएको थियो ।

आइतबार भएको खेलमा अर्जेन्टिनाले इजिप्टमाथि १–० को झिनो जित निकालेको हो । अर्जेन्टिनाको जितमा फकुन्डो मेडिनाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५२औं मिनेटमा गोल गरेका थिए । अर्जेन्टिना पहिलो खेलमा अस्ट्रेलियासँग २–० ले पराजित भएको थियो । पहिलो जितसँगै समूह ‘सी’मा अर्जेन्टिना दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । गोल अन्तरमा अस्ट्रेलिया अघि छ । यही समूहको अर्काे खेलमा स्पेनले अस्ट्रियामाथि १–० कै जित निकाल्यो । यो जितसँगै स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

इजिप्ट १ अंक जोडेर पुछारमा छ । यस्तै उपाधि दावेदार ब्राजिल र आइभोरी कोस्टले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । १३औं मिनेटमा डगलस लुइस सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ब्राजिल समस्यामा परेको थियो । यही समूहको अर्काे खेलमा जर्मनीले साउदी अरेबियामाथि ३–२ को जित निकालेको छ । जर्मनीको यो पहिलो जित हो । जर्मनीको जितमा नादिम एमिरी, राग्नर एचे र फेलिक्स उदोखाइले गोल गरे ।

साउदीका लागि दुवै गोल सामी अल नाजेइले गरेका थिए । जर्मनी ६६औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । यो नतिजासँगै समूह ‘डी’मा ब्राजिल र आइभोरी कोस्टको समान ४ अंक रहे पनि गोलअन्तरमा ब्राजिल शीर्षस्थानमा रहँदा आइभोरीकोस्ट दोस्रोमा रहेको छ । जर्मनी ३ अंकसहित तेस्रो स्थानमा रहँदा साउदीले अंकको खात खोल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *