युरोपछि ओलम्पिकमा पनि रंगभेदी दुर्व्यवहार कायमै, जर्मन फुटबल टोली मैदान छाड्न बाध्य

टोकियो ओलम्पिक शुरु नहुँदै रंगभेदी दुर्व्यवहार भने शुरु भइसकेको छ। कुनै पनि अन्तराष्ट्रिय खेलकुदमा रंगभेदी दुर्व्यवहारको विषय नौलो होइन, र फुटबलमा त यी दुःखद घटना घटी नै रहन्छन्।

ओलम्पिक खेल शुरु हुनु अगाडी शनिवार जर्मनी ओलम्पिक फुटबल टोलीले होन्डुरसको युवा टोलीसँग मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो। दोस्रो हाफको ८५औं मिनेटको खेल चलिरहँदा जर्मनी टोली एक्कासी मैदान छाड्न बाध्य भयो। जापानको ‘वाकायामा’मा खेलिएको अभ्यास खेलको निर्धारित ९० मिनेटको समय सक्किन ५ मिनेट अगावै जर्मन टोलीले मैदान छाड्यो। कारण, रंगभेदी दुर्व्यवहार। जर्मन रक्षक जोर्डन टोरुनारिघा माथि रंगभेदी दुर्व्यवहार भएको थियो।

खेल १-१ को स्थितिमा हुँदा सो घटना घटेपछि जर्मन फुटबल फेडेरेसनले औपचारिक बयान दिंदै रंगभेदी दुर्व्यवहार नै मैदान छोड्नुको कारण रहेको बतायो। “हाम्रा खेलाडीले संयुक्त रूपमा मैदान छोड्नुको कारण जोर्डन माथि भएको रंगभेदी दुर्व्यवहार थियो।”

त्यस्तै जर्मनीका प्रशिक्षक स्टेफन कुन्जले पनि उक्त दुःखद घटनाले सबैलाई निराश बनाएको कुरा व्यक्त गरे। “यदि हाम्रो कुनै पनि खेलाडीमा रंगभेदी दुर्व्यवहार हुन्छ भने, खेललाई निरन्तरता दिनु पहिलो प्राथमिकता होइन”, उनले भने। “खेल सक्किन ५ मिनेट बाँकी रहँदा सो घटना घट्यो, म हतारिँदै जोर्डन भएको ठाउँमा पुगें, उनी निकै निराश थिए”, स्टेफनले थपे।

“जोर्डनसँग यस्तो घटना घटेको यो दोस्रो पटक हो, हामीलाई यो कदापि मन्जुर थिएन र हामीले मैदान छाडेका हौं”, प्रशिक्षक स्टेफनको भनाई थियो। “त्यसपछि होन्डुरसको सम्पूर्ण टोलीले बेन्चमा आएर माफी मागे, जोर्डनलाई हाम्रो खेलाडीले अंकमाल गरेर साथ दिए र जोर्डनलाई दुःखी हुन नदिन हामी सबैले केही ठट्टा पनि गर्यौँ”, उनले थपे।

टोरुनारिघाले व्यावसायिक फुटबल खेल्ने क्लब जर्मनीको हर्था बर्लिनले मैदान छाड्नु नै सही निर्णय रहेको भन्दै ट्वीट गरेको छ। गत फेब्रुवरीमा बर्लिन र शाल्के बिचको खेलमा पनि शाल्केका समर्थकले टोरुनारिघा माथि जातीय तथा रंगभेदी दुर्व्यवहार गरेका थिए।

जर्मन कपको दौरान सो घटना घट्दा शाल्केलाई ५० हजार युरो जरिवाना समेत लगाइएको थियो। “नाइजेरियाका पूर्व खेलाडी ओजोकोजो टोरुनारिघाका छोरा हुन् २३ वर्षीय जोर्डन टोरुनारिघा, र यति कलिलो उमेरमै बारम्बार रंगभेदी दुर्व्यवहारको शिकार हुनु पर्दा उनी दुःखी भएका छन्”, जर्मनी टोलीको अभिव्यक्ति थियो।

यस अघि युरो कप २०२० दौरान पनि खेलाडीहरू रंगभेदी दुर्व्यवहारबाट पीडित भएका थिए। इटालीविरुद्धको फाइनल खेलपछि इङ्ल्यान्डका मार्कस राशफोर्ड, जेडन सान्चो र बुकायो साका पनि यस घटनाको शिकार बनेका थिए।

फाइनल खेलमा यी तीनै खेलाडीले आ आफ्नो पेनाल्टी मिस गरेपछि उनीहरु माथि रंगभेदी गाली गलौच गरिएको थियो। तर सम्पूर्ण इंग्लिश फुटबल टोली र समर्थकले त्यसको चौतर्फी विरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *