गत वर्ष नोभेम्बरमा स्पियर्सका वकिलले लस एन्जलिसको अदालतमा जेमी स्पियर्सलाई गायिकाको संरक्षकबाट हटाउन याचिका दायर गरेका थिए। गायिका स्पियर्स आफ्नो बुबाबाट डराएको र त्यसैले सन् २००८ देखि एकल संरक्षकको भूमिकामा रहेका उनलाई हटाउन चाहेको बताइएको थियो। स्पियर्सको अनुरोधलाई अस्वीकार गरिए पनि त्यो निर्णय गायिकाले गत साता अदालतलाई दिएको २३ मिनेट लामो विस्फोटक बयानको सुनुवाइ नभएको बताइएको छ। स्पियर्सले अदालतलाई आफूलाई लागु औषधि दिइएको, इच्छा विपरीत सांगितिक कार्यक्रम गर्न बाध्य पारिएको र सन्तान जन्माउन नदिएको बताएकी थिइन्।
“मलाई मात्रै मेरो जीवन फिर्ता चाहिएको छ,” ३९ वर्षीया स्पियर्सले भनेकी थिइन्।
न्यायाधीश ब्रेन्डा पेनीले स्पियर्सको यो विषयमा आदेश दिन सक्दिनन् किनभने त्यसका लागि स्पियर्सले मुद्दा दायर गर्नुपर्छ।
बुधवारको निर्णय नोभेम्बरमा गरिएको अनुरोधसँग मात्रै सम्बन्धित छ। न्यायाधीशले जेमी स्पियर्सलाई हटाउन अस्वीकार गरे पनि स्पियर्सले प्रस्ताव गरेको निजी सम्पत्ति व्यवस्थापन कम्पनी बेस्सेमर ट्रस्टलाई सह-संरक्षक बनाउन भने स्वीकृति दिएकी छन्। जेमी स्पियर्सका वकिलहरूले भने अदालतलाई गायिकाको दुर्व्यवहार आरोपको अनुसन्धान गर्न माग गरेका छन्। अदालतमा स्पियर्सले दिएको बयानको अडियो सार्वजनिक भएपछि अदालतले पत्रकारहरूलाई अदालतको कामकारबाही इन्टरनेटमार्फत हेर्न दिने व्यवस्था खारेज गरेको छ।