१७० वर्षे इतिहासमा रोयटर्सले पायो पहिलो महिला प्रधान सम्पादक

रोयटर्सले अलेसान्ड्रा गालोनीलाई प्रधान सम्पादक बनाउने भएको छ । योसँगै समाचार संस्था रोयटर्सले १७० वर्षे इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक पाउने भएको छ । 

रोमकी स्थायी बासिन्दा ४७ वर्षीया गालोनीले स्टिफिन जे एड्लरलाई प्रतिस्थापन गर्नेछिन् । एड्लरको नेतृत्वमा सात वटा पुलित्जर पुरस्कारसहित सयौं अवार्ड प्राप्त गर्न सफल भएको रोयटर्सले जनाएको छ । रोयटर्स कम्युनिकेसनका अनुसार गालोनीले आगामी अप्रिल १९ देखि आफ्नो नयाँ जिम्मेवारी सम्हाल्नेछिन् । ४ भाषामा पोख्त उनी यसअघि उनी वाल स्ट्रिट जर्नलमा काम गर्थिन् । उनी सन् २०१३ मा रोयटर्सका दक्षिण युरोप ब्युरो प्रमुखका रुपमा आबद्ध भएकी थिइन् ।

त्यस्तै सन् २०१५ देखि उनले ग्लोबल म्यानेजिङ इडिटरको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनले हार्भड विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्सबाट उच्च शिक्षा हासिल गरेकी छिन् । प्रधान सम्पादकका रुपमा उनले लन्डनमा बसेर काम गर्ने पनि रोयटर्सले जनाएको छ । उनले विश्वभरका झन्डै २५ सय पत्रकारको नेतृत्व गर्नेछिन् ।

१७० वर्षे इतिहासमा रोयटर्सले निष्पक्ष, गुणस्तरीय र स्वतन्त्र रुपमा विश्वसनीय समाचार सामग्री पस्केको उल्लेख गर्दै गालोनीले विश्वस्तरीय समाचार कक्षको नेतृत्व गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *