छठ पूजालाई लिएर जलपाईगुडी सहरमा उत्सवमय वातावरण बनेको छ। बिहीबार छठ पूजाको अवसरमा जलपाईगुडीको नेताजीपाडा परेश मित्र कोलोनी छठ पूजा समितिको आयोजनामा भव्य शोभायात्रा निकालियो। ठूलो संख्यामा छठव्रती तथा भक्तजनहरूले शिरमा कलश राखेर शोभायात्रामा सहभागिता जनाए।
ढोल-नगाडाको ताल, धार्मिक उत्साह र उल्लासपूर्ण वातावरणका बीच शोभायात्रा नेताजीपाडा तथा आसपासका विभिन्न क्षेत्रहरूको परिक्रमा गर्दै अघि बढेको थियो।
छठ पूजाअघि आयोजित यस रंगारंग कार्यक्रममा सम्पूर्ण क्षेत्र उत्सवमय बनेको थियो। शोभायात्रामा ठूलो संख्यामा स्थानीय बासिन्दाहरू स्वतःस्फूर्त रूपमा सहभागी भएका थिए। सबै भक्तजन छठ पर्वको उमंग र भक्तिमा रमाएको देखिन्थ्यो।
