जुलाई १ मा ‘डाक्टर्स डे’ का अवसरमा सुरु गरिएको एक महिना लामो दिगोपनसम्बन्धी अभियानमा भारतभरका ६६,९२८ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सहभागिता जनाएपछि ‘हिमालय वेलनेस कम्पनी’ले नयाँ ‘गिनिज वर्ल्ड रेकर्ड्स™’ उपाधि हासिल गरेको छ।
“हातमा सन्देश लेखिएको बोर्ड वा कागज (साइन) बोकेका मानिसहरूको सबैभन्दा ठूलो अनलाइन फोटो एल्बम” को विधाअन्तर्गतको यो उपलब्धिले ५३,२०१ को अघिल्लो रेकर्ड भंग गरेको छ। सहभागीहरूले “युनाइटेड फर वेलनेस, युनाइटेड फर अ ग्रिनर टुमारो” भन्ने सन्देश बोकेका ब्यानरहरू बोकेका तस्बिरहरू पेश गरे, जसका प्रविष्टिहरू गिनिज वर्ल्ड रेकर्ड्स निर्देशिकाहरू अन्तर्गत समीक्षा र प्रमाणित गरिएका थिए।
हिमालयका प्रमुख वित्तीय अधिकारी (CFO) र प्रमुख सञ्चालन अधिकारी (COO) जयश्री उल्लालले यो रेकर्डले मानिस, ग्रह र साझेदारीको हेरचाह समेट्ने कम्पनीको “केयर फर लाइफ” को दर्शनलाई प्रतिबिम्बित गरेको बताएकी छिन्।
स्वास्थ्य सेवा क्षेत्रका बिजनेस डाइरेक्टर विकास बन्सीले बताएअनुसार, यस पहलको उद्देश्य अझ स्वस्थ र दिगो भविष्य निर्माण गर्ने साझा लक्ष्यका लागि भारतको चिकित्सा समुदायलाई एकताबद्ध गर्नु थियो।
बेबीकेयरका डायरेक्टर चक्रवर्ती एन.भी. ले यस उपलब्धिका लागि सहभागी चिकित्सकहरू र कम्पनीको फिल्ड टोलीलाई श्रेय दिँदै यसलाई चिकित्सा जगतसँग हिमालयको लामो समयदेखिको सम्बन्धको प्रतिविम्बका रूपमा वर्णन गर्नुभयो।
यो पहल कम्पनीको वातावरणीय क्षेत्रसम्बन्धी बृहत् प्रयासहरूको एक हिस्सा हो, जसमा सन् २०३० सम्ममा कम्तीमा ५० लाख रूख रोप्ने लक्ष्य पनि समावेश छ। हिमालयले पारिस्थितिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरूमा २० लाखभन्दा बढी रूखहरू रोपिसकेको र जैविक विविधता तथा दिगो खेती प्रणालीलाई प्रवर्द्धन गर्न गैरसरकारी संस्थाहरू, समुदाय तथा किसानहरूसँग मिलेर काम गरिरहेको जनाएको छ।
