अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आग्रह गरेका छन् ।
एक अन्तर्वार्ताका क्रममा ट्रम्पले खोप सुरक्षित भएको जनाउँदै यसले ‘केही काम गर्ने’ बताए । ट्रम्प समर्थकहरूले अमेरिकामा खोप अभियानको विरोध गर्दै आएका छन् । आफ्नो कार्यकालमा कोरोना भाइरसको महामारीलाई हलुका रूपमा लिएको भन्दै पूर्वराष्ट्रपति ट्रम्पको कडा आलोचना भएको थियो ।
अमेरिकामा खोप अभियान सुरु भएसँगै अन्य पूर्वराष्ट्रपतिहरूले सबै अमेरिकीलाई खोप लिन आग्रह गरेका थिए । तर ट्रम्प यसबारे मौन बस्दै आएका थिए । ट्रम्प र उनी पत्नी मेलानियाले भने गोप्य तवरले गत जनवरीमा ह्वाइटहाउसमा खोप लगाएका थिए ।
‘म खोप लिन सुझाव दिन्छु,’ फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘यो महान् खोप हो । यो सुरक्षित छ र यो त्यो हो जसले काम गर्छ ।’ सीबीएसले हालै गरेको सर्वेक्षणमा खोप उपलब्ध भए पनि रिपब्लिकन दलका करिब एक तिहाइ समर्थकले खोप लगाएका छैनन् । तर डेमोक्रेटका १० प्रतिशतले मात्र खोप नलगाएका जनाइएको छ ।