परितोषहरूको जीत, स्वप्नाको सपना चकनाचूर

उम्मेद्वारबारे विरोध प्रदर्शन त कतै तीव्र आन्तरिक द्वन्द्व। तर भाजपाको ठूलो जीतसितै यी सबै कुरा ओझेलमा परे। धेरै भाजपाका उम्मेद्वारहरूले सजिलै जिते। तर तृणमूलको शिविरमा चित्र ठीक उल्टो देखियो। भाजपाको उम्मेद्वार सूची घोषणा भएपछि उत्तर बङ्गालका विभिन्न क्षेत्रमा दलका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। अलिपुरद्वारका परितोष दास र बालुरघाटका विद्युतकुमार राय समस्यामा परेका थिए। अलिपुरद्वारमा परितोषको नाम घोषणा भएपछि पार्टी कार्यालयमा तोड़फोड़ गरी ताला लगाइयो। कार्यकर्ताहरूको एक हिस्सा धर्ना र विरोधमा बसेका थिए। तर चुनाउ नजिकिँदै जाँदा असन्तुष्टहरूलाई नियन्त्रण गर्न मसला व्यापारी परितोष सफल भए। भारत सेवा आश्रमसित निकट सम्बन्ध रहेको परितोष दास लगातार पाँच वर्ष जिल्ला भाजपाका कोषाध्यक्ष थिए। तिनले सजिलै तृणमूलका उम्मेद्वार सुमन काञ्जीलाललाई पराजित गरे।
बालुरघाटका विद्युतकुमार रायको मामिलामा पनि त्यस्तै स्थिति देखियो। तिनले दलमा प्रवेश गरेलगत्तै टिकट पाए। तिनलाई निवर्तमान विधायक तथा अर्थशास्त्री अशोककुमार लाहिड़ीको साटो उम्मेद्वार बनाइएको थियो। पेशाले वकिल रहेका विद्युतविरुद्ध दलभित्रै केही असन्तुष्टि देखिएको थियो। दीर्घकालीन कार्यकर्ता सुशील मार्डीले दल छोड़ेर स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका थिए। केन्द्रीय मन्त्री सुकान्त मजुमदारको क्षेत्रमा यस विद्रोहले भगवा शिविरलाई असहज बनाएको थियो। तर सुशीलले विद्युतलाई समस्यामा पार्न सकेनन्। तिनले सजिलै तृणमूल उम्मेद्वार अर्पिता घोषलाई हराए। विद्युतले भने, मानिसहरूले जसरी स्वतःस्फूर्त रूपमा मतदान गरे त्यसले म विश्वस्त थिएँ। तर यति धेरै मत पाउँछु भन्ने सोचेको थिइनँ।
जलपाइगढ़ीको मैनागुड़ीमा भाजपाभित्र अनौठो अवस्था सिर्जना भएको थियो। निवर्तमान विधायक र यसपल्टका उम्मेद्वारबीचको विवाद चरममा पुगेको थियो। अघिल्लो विधानसभा चुनाउमा भाजपाबाट जितेका कौशिक रायले यसपल्ट पनि आफू उम्मेद्वार भएको दाबी गर्दै प्रचार जारी राखे। भाजपाले भने डालिम रायको नाम उम्मेद्वारका रूपमा घोषणा गरेको थियो। तिनले उम्मेद्वारी दर्ता समेत गरेपछि कार्यकर्ताबीच भ्रम चरममा पुग्यो। अन्ततः कौशिक प्रतिस्पर्धाबाट पछि हटे। डालिमले ठूलो मतान्तरले तृणमूलका प्रतिद्वन्द्वीलाई पराजित गरे।
यसपल्ट चुनाउमा ट्र्याजिक लेडीका रूपमा स्वप्ना बर्मन रहिन्। सन् 2018 को एशियाडमा स्वर्ण पदक जितेकी एथलेट स्वप्नालाई जलपाइगढ़ीको राजगञ्जबाट तृणमूलले टिकट दिएको थियो। यसमा निवर्तमान विधायक खगेश्वर रायले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका थिए। सूत्रअनुसार, चारपल्ट विधायकको असन्तुष्टि कम्ती गर्न तृणमूल नेतृ ममता ब्यानर्जी स्वयंले तिनीसित कुराकानी गरेकी थिइन्। त्यसपछि खगेश्वर स्वप्नाको प्रचारमा देखिए। चुनाउ लड्न स्वप्नाले धेरै कठिनाइ भोग्नु परेको थियो। रेल सेवामा कार्यरत स्वप्नाले कार्यालयबाट अनुमति पाउन निकै समस्या झेलेकी थिइन्। तर तिनको पहिलो चुनाउ लड़ाईँ सुखद हुन सकेन। भाजपाका दिनेश सरकारले तिनलाई सजिलै पराजित गरे।

By Paromita