आसन परिवर्तन गरेर जन्मभूमि फर्किए पनि आफ्नै शहर सिलगढ़ीमा पराजित भए गौतम देव। ठूलो मतान्तरसहित भाजपाका निवर्तमान विधायक शङ्कर घोषले फेरि पनि चुनाउ जिते। शङ्कर घोषको जितको अन्तर 2021 को चुनाउभन्दा दोब्बर रह्यो। एघाह्रौँ राउण्डको अन्त्यसम्म तिनको अग्रता 66900 मत थियो। सिलगढ़ी मात्र होइन उत्तर बङ्गालका वरिष्ठ तृणमूल नेताहरूमध्ये गौतम एक हुन्। 2011 मा तृणमूलको लहरमा तिनी डाबग्राम–फूलबारी विधानसभा आसनबाट विजयी भई उत्तर बङ्गाल विकास मन्त्री बनेका थिए। 2016 को चुनाउमा सोही क्षेत्रबाट पुनः विजयी भई पर्यटनमन्त्री बने। 2021 को चुनाउमा तिनी पराजित भए। 2022 मा सिलगढ़ी नगर निगमको चुनाउ जितेर मेयर पदमा आसीन भए।
यसपल्ट विधानसभा चुनाउभन्दा केही दिनअघि डाबग्राममा आयोजित एक सभाबाट गौतमले आफू आफ्नै जन्मभूमि सिलगढ़ी आसनमा फर्कने घोषणा गरेका थिए। डाबग्राम–फूलबारीबाट उम्मेद्वार नबन्ने तिनले बताएका थिए। त्यसपछि तिनलाई शहरका अभिभावकको रूपमा चुनाउ मैदानमा प्रस्तुत गरियो। लगातार डेढ़ महीना शहरका विभिन्न भागमा सक्रिय रहे। यति हुँदाहुँदै पनि तिनको भाग्य पल्टिएन। मत परिणाम सार्वजनिक भएपछि गौतम देवले ईभीएममा धाँधली भएको आरोप लगाए। तिनले भने, चारवटा ब्यालट बाकस खुल्ला थिए। ब्यालट पेपरसित लेखा नम्बरको सिरियल मिलेन। ईभीएममा पनि हेरफेर गरिएको छ। यस विषयबारे चुनाउ आयोगसमक्ष उजुरी दिनेछु।
तृणमूलका उम्मेद्वारले जे भने पनि शहरको समग्र विकासबारे केही नागरिकले प्रश्न उठाएका छन्। डाबग्राम–फूलबारीमा पराजित भएपछि तिनी यहाँका मेयर बनेको चार वर्ष बितिसक्दा पनि शहरको खानेपानी र ट्राफिक जाम समस्या समाधान गर्न सकेनन्। भूमिगत विद्युत् तार राखेपछि लामो समयसम्म सड़क खनेर अस्तव्यस्त अवस्थामा छोड़िएको छ। विभिन्न वार्डमा पुगे, फोनमार्फत गुनासो सुने। तर व्यवहारमा समस्या समाधानको दर निकै न्यून रह्यो। यसको प्रभाव मतमा परेको छ।
आसन परिवर्तन गरे पनि पराजित गौतम देव
