रात परेपछि ढुङ्गाको वर्षा! अदृश्य सन्त्रास

राति आठ बज्ने बित्तिकै त्यो ताण्डव आरम्भ हुन्छ। चारैतिर सुनसान हुन्छ तर अचानक वर्षाझैं ढुङ्गा घरको टिनको छानामाथि खस्न थाल्छ। बितेको एक हप्तादेखि नगराकट्टाको सुल्कापाड़ा बजार नजिकैको फकिरधुरा गाउँ मानौँ कुनै रहस्यमय आक्रमणकारीको निशानामा परेको छ। यस अदृश्य ढुङ्गा वर्षाका कारण गाउँका धेरै घरहरूको टिनको छानामा प्वाल परेको छ।
गाउँका वासिन्दाहरूले बताएका छन् कि रात पर्न साथ फकिरधुरामा अनौठो त्रास फैलिन्छ। स्थानीय वासिन्दा फरिदुल हकको दाबी अनुसार, आइतवार राति घरमा गाड़ी राख्न जाँदा तिनले अचानक ढुङ्गा खस्न थालेको देखे। ती ढुङ्गाहरू कहाँबाट आइरहेका छन् भनेर कसैले पनि बुझ्न सकेका छैन। आफ्नो महङ्गो गाड़ी जोगाउन तिनले अहिले त्यसलाई स्थानीय ग्रामीण अस्पतालको मैदानमा राख्न थालेका छन्। उस्तै अनुभव रुबेल हकको पनि छ। तिनको घरको छाना पनि अहिले चाल्नी जस्तै प्वाल-प्वाल भएको छ।
यसबाट सबैभन्दा बढ़ी समस्यामा परेका छन् यस क्षेत्रका विद्यार्थीहरू। स्थानीय छात्रा स्नेहा परविनले भनिन्, राति आठ बजेपछि घरबाट बाहिर निस्कन पनि डर लाग्छ। निरन्तर ढुङ्गा खसेको आवाजले पढ़ाईमा ध्यान केन्द्रित गर्न असम्भव भइरहेको छ। घर मात्र होइन सड़कमा हिँड़िरहेका मानिसहरूमाथि पनि ती ढुङ्गाहरू खसिरहेका छन्।

By Paromita