विधानसभा चुनाउको बिगुल बजिसकेको छ। जलपाइगढ़ी नगर क्षेत्रको मत ब्याङ्कलाई लक्षित गर्दै सीपीएम र भाजपाले शहरभरि आक्रामक प्रचार गरिरहेका बेला नगर क्षेत्रमा तृणमूलको प्रचार प्रतिस्पर्धीहरूको तुलनामा निकै कमजोर देखिएको छ। जलपाइगढ़ी विधानसभा क्षेत्रका तृणमूल उम्मेद्वार कृष्ण दास शहरमा प्रचारमा आउँदा तिनीसित नगरपालिका अध्यक्ष, उपाध्यक्ष र तृणमूलका काउन्सिलरहरू पनि देखिए पनि उम्मेद्वारबाहेक शहरका विभिन्न वार्डहरूमा सत्तारूढ़ दलका नेताहरूलाई खासै सक्रिय रूपले प्रचार गरेको देखिएको छैन। नगरपालिका अध्यक्ष सैकत चट्टोपाध्यायलाई पनि आफ्नै 8 नम्बर वार्ड र तिनको पुरानो 11 नम्बर वार्डबाहेक अन्य क्षेत्रमा प्रचार गरेको देखिएको छैन। पछिल्ला चुनाउहरूमा तृणमूल कङ्ग्रेस नगर क्षेत्रका प्रत्येक वार्डमा पछाड़ि परेको थियो। त्यसकारण शहरमा पार्टीको प्रचार अभावबारे पार्टीभित्रै प्रश्न उठ्न थालेको छ।
शहर क्षेत्रमा अझैसम्म सशक्त प्रचार आरम्भ नभएको तृणमूलका टाउन ब्लक अध्यक्ष शेखर बन्द्योपाध्यायले स्वीकार गरेका छन्। शेखरले भने, शहरका प्रत्येक वार्डमा हाम्रा कार्यकर्ताहरू घर-घरमा गएर पार्टीका उम्मेद्वारको पक्षमा प्रचार आरम्भ गरिसकेका छन्। 4 अप्रेलमा उम्मेद्वारले मनोनयन दर्ता गरेपछि हामी शहरभरि व्यापक प्रचार गर्नेछौँ। हामीले काउन्सिलरहरूसित बैठक गरेर शहर क्षेत्रमा प्रचारका लागि कार्यसूची पनि तयार गरिसकेका छौँ। शहरमा तृणमूल कति मतले अगाड़ि रहनेछ भन्ने प्रश्नमा तिनले भने, त्यो त समयले बताउनेछ।
यस केन्द्रका सीपीएम उम्मेद्वार देवराज बर्मनलाई ग्रामीण क्षेत्र र चियाबारी क्षेत्रमा प्रचारको बीचमा शहरमा विभिन्न समयमा जुलूस निकाल्दै गरेको देखिएको छ। कहिलेकाहीँ उम्मेद्वार नभए पनि सीपीएमका युवा र विद्यार्थी सङ्गठनहरूले पनि शहरमा प्रचार गरिरहेका छन्। त्यस्तै भाजपाका उम्मेद्वार अनन्तदेव अधिकारीलाई पनि विभिन्न समय नगर क्षेत्रमा प्रचार गर्दै गरेको देखिएको छ। मङ्गलवार साँझ पनि अनन्तले शहरको मर्चेण्ट रोड क्षेत्रमा प्रचार गरेका थिए। उम्मेद्वार घोषणा भएपछि कङ्ग्रेसका उम्मेद्वार सुदीप्त मोहन्तलाई पनि शहरमा प्रचार गर्दै गरेको देखियो। प्रतिस्पर्धीहरूले शहरभरि प्रचार गरिरहेका बेला नगर क्षेत्रमा तृणमूलको तुलनात्मक रूपमा कम प्रचार शहरवासीहरूको नजरबाट लुकेको छैन।
2019 को लोकसभा चुनाउमा शहर क्षेत्रमा तृणमूल लगभग 20 हजार मतले पछाड़ि परेको थियो। 2021 को विधानसभा चुनाउमा पनि अवस्था परिवर्तन भएको थिएन। 2024 को लोकसभा चुनाउमा भाजपाको तुलनामा तृणमूल लगभग 17 हजार मतले पछाड़ि परेको थियो। नगरपालिका अध्यक्ष सैकत र तृणमूल उम्मेद्वार कृष्णबीचको मधुर सम्बन्धबारे लगभग सबैलाई थाहा छ। पार्टीको शीर्ष नेतृत्वको निर्देशनमा कृष्णसित सैकतलाई एउटै मञ्चमा देखिए पनि उम्मेद्वारबाहेक शहरमा चुनाउ प्रचारका क्रममा आफ्नै वार्डबाहेक सैकतलाई अझै सक्रिय रूपमा प्रचार गरेको देखिएको छैन। केवल सैकत मात्र होइन तृणमूलका अन्य 21 काउन्सिलरहरूले पनि आ-आफ्नो वार्डमा कति प्रचार आरम्भ गरेका छन् भन्ने विषयमा पार्टीभित्रै प्रश्न उठेको छ। सैकतले भने, मैले पहिले नै चुनाउ प्रचार आरम्भ गरिसकेको छु। आफ्नो 8 नम्बर वार्ड र मेरो पुरानो 11 नम्बर वार्डमा चुनाउ प्रचार र कार्यकर्ताहरूसित बैठक गरिसकेको छु। साथै आज मैले काउन्सिलरहरूसित पनि बैठक गरेको छु।
मतमा ह्रासट आउने आशङ्कामा तृणमूल कार्यकर्ता
