राजनीतिमा नेताहरू संलग्न हुने मुख्य उद्देश्य नै जनताको कल्याण हो। त्यहाँ विभाजन किन ल्याइने? धर्मलाई आधार बनाएर राजनीति गर्नेहरू राजनीतिक रूपमा दिवालिया हुन्छन्। यसरी नै उत्तर बङ्गालको भूमिबाट भाजपाको विभाजनकारी राजनीतिविरुद्ध गर्जिए तृणमूलका सर्वभारतीय महासचिव अभिषेक ब्यानर्जी। बिहीवार धूपगुड़ी र कालचिनी विधानसभा क्षेत्रका उम्मेद्वारहरूको समर्थनमा अभिषेकले कार्यक्रम सञ्चालन गरे। धूपगुड़ीमा जनसभा थियो भने कालचिनीमा तृणमूलका सर्वभारतीय महासचिव अभिषेकले रोड शो गरे। उत्तर बङ्गालको भूमिमा तृणमूलले पहिलेभन्दा धेरै आफ्नो राजनीतिक आधार बलियो बनाएको छ र अझ प्रयास गरिरहेको राजनीतिक वृत्तमा चर्चा छ। ठीक यही परिवेशमा अभिषेकका यी दुई कार्यक्रम राजनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिएका छन्। दुवै कार्यक्रममा अभिषेकले ममता ब्यानर्जी सरकारको विकासको रिपोर्ट कार्ड प्रस्तुत गरे। जहाँ भाजपा धर्मको नाममा राजनीति गरिरहेको छ त्यहाँ ममताको सरकारले बङ्गालका सबै मानिसका लागि कसरी विकास गरिरहेको छ भनेर तृणमूलका सर्वभारतीय महासचिवले प्रस्तुत गरे।
यसै क्रममा सन् 2026 को विधानसभा चुनाउमा तृणमूलले विशाल बहुमतमा जित हासिल गरेमा सर्वसाधारणले अझ बढ़ी नागरिक सेवा प्राप्त गर्ने अभिषेकले टिप्पणी गरे। तर अन्य कुनै दलले जिते सर्वसाधारणले ती नागरिक सेवाहरू गुमाउने पनि तिनले मन्तव्य गरे। तिनले भने, अच्छे दिन-को आशामा भाजपालाई भोट दिनेहरू अहिले दुःखद दिन भोगिरहेका छन्। 1200-1500 रुपियाँमा खाना पकाउने ग्यास किन्नु परिरहेको छ। विकासको आशामा भाजपालाई भोट दिनेहरू आज ठगिएका छन्।
तिनले थपे, 12 वर्षदेखि केन्द्रमा मोदी सरकार चलिरहेको छ। तर जनताको सङ्कटको समयमा भाजपाका कुनै जनप्रतिनिधि भेटिँदैनन्। बाहिरी भाजपा कहिल्यै पनि बङ्गालका जनताको साथमा रहँदैन। वर्षभरि जनताको साथमा रहने भनेको केवल ममता ब्यानर्जीको सरकार मात्र हो।
अभिषेकद्वारा उत्तर बङ्गालको भूमिबाट भाजपामाथि प्रहार
