आसामबाट उत्तर बङ्गालतर्फ अवैध राशि भित्रिरहेको छ। कहिले वाहनको ड्यासबोर्डमा, सनरूफमा सजाएर फेरि कहिले सिटमुनि लुकाएर राज्यभित्र पैसा ल्याइँदैछ। मतदान घोषणापछि उत्तर बङ्गालका विभिन्न क्षेत्रबाट लगभग 35 लाख रुपियाँ नगद जफत गरिएपछि गुप्तचरहरूले यस्तो जानकारी पाएका हुन्। यसपल्ट चुनाउ मैदानमा पैसाको खेल चल्न सक्ने गुप्तचरहरूको अनुमान छ। चुनाउ आयोगका अधिकारीहरूले यस विषयमा गम्भीरतापूर्वक जाँच भइरहेको बताएका छन्। यसका लागि अन्तरराज्य चेकपोस्टहरूमा निगरानी बढ़ाइएको छ। यसबारे तृणमूल कङ्ग्रेस र भारतीय जनता पार्टीबीच चुनाउ मैदानमा वाकयुद्ध आरम्भ भएको छ।
उत्तर बङ्गालका अन्तरराज्य चेकपोस्टहरूमध्ये आसामसित जोड़िएको कोचबिहार जिल्लाको बक्सिरहाट थानाअन्तर्गत जोराइमोड़ एक प्रमुख चेकपोस्ट हो। यो चेकपोस्ट 17 नम्बर राष्ट्रिय राजमार्गमा अवस्थित छ। सम्बन्धित थानाको अर्को चेकपोस्ट सङ्कोश मोड़मा छ जुन 31 नम्बर राष्ट्रिय राजमार्गमा पर्छ। मतदान घोषणा भएपछि यी दुवै चेकपोस्टबाट पटक–पटक नगद राशि जफत गरिएको छ। प्रशासनिक सूत्रअनुसार, यी दुवै चेकपोस्टमा अधिकांश वाहनका सिटमुनिबाट अवैध रकम फेला परेको छ।
यसैबीच त्यहाँबाट विभिन्न चरणमा 7 लाख रुपियाँ जफत गरिएको छ। अधिकांश गाड़ी आसामबाट बक्सिरहाट प्रवेश गर्ने गर्छन्। यसअघि अलिपुरद्वारमा आसामको चिराङबाट आएको एउटा गाड़ीको ड्यासबोर्ड र सनरूफमा खोजी गर्दा 2 लाख 75 हजार रुपियाँ फेला परेको थियो। यसबाट आसामबाट यसरी उत्तर बङ्गालको चुनाउ मैदानमा पैसा भित्र्याइरहेको गुप्तचरहरूलाई शङ्का लागेको छ।
यसबाहेक बुधवार राति सिलगढ़ीनजिक सेवक रेल गेटको छेउमा एउटा सानो गाड़ीबाट 5 लाख रुपियाँ अवैध रकम फेला पारिएको छ। यसअघि कोचबिहार जिल्लाको शीतलकुची र सिताईबाट 18 लाख 30 हजार रुपियाँ फेला पारिएको थियो। यस विषयले विभिन्न क्षेत्र चिन्तित छन्। कोचबिहारदेखि अलिपुरद्वार, जलपाइगढ़ीदेखि सिलगढ़ी, दार्जीलिङ र कालेबुङ पहाड़सम्म चुनाउ मैदानमा पैसाको खेल चलिरहेको तिनीहरूको धारणा छ। मतदानको दिन नजिकिँदै जाँदा यो खेल अझ बढ्ने आशङ्का गरिएको छ।
मतदान घोषणापछि उत्तर बङ्गालमा लाखौँ जफत
