असन्तुष्ट भाजपा नेताहरूलाई केन्द्रीय नेतृत्वको कठोर सन्देश

केन्द्रीय नेतृत्वको दबाउमा पहाड़का असन्तुष्ट भाजपा नेताहरू पछि हटेका छन्। उम्मेद्वार सूची सार्वजनिक भएपछि जसरी असन्तोष र विरोध आरम्भ भएको थियो र दलको निर्णयविरुद्ध गएर निर्दल उम्मेद्वार खड़ा गर्ने विषय उठाइएको थियो त्यसबारे अहिले असन्तुष्टहरू लगभग मौन छन्। दार्जीलिङको जिम्मावारी पाएका केन्द्रीय नेतृत्वले बैठक गरेर स्पष्ट पारेको छ कि उम्मेद्वार परिवर्तनको कुनै सम्भावना छैन। यी उम्मेद्वारहरूलाई स्वीकार गरेर नै दलको काम गर्नुपर्नेछ। कसैले यसमा सहमत नभए तिनीहरू अलग हुन सक्छन्। दलले पछि आवश्यक कदम चाल्नेछ। यस्तो स्थितिमा असन्तुष्ट नेताहरूले अब दलको निर्णयविरुद्ध अघि बढ्ने साहस गर्न नसकिरहेका खबर छ। पहाड़का भाजपा असन्तुष्ट नेता राजेन मुखियाले भने, दलको शीर्ष नेतृत्वसित हाम्रो छलफल चलिरहेको छ। निर्दल उम्मेद्वार उठाउने विषयमा कुनै निर्णय भएको छैन। पहाड़का अर्का असन्तुष्ट नेता मनोज देवानले पनि यस्तै कुरा बताएका छन्।
दार्जीलिङका भाजपा सांसद राजु विष्टले भने, उम्मेद्वार पदका 24 जना दावेदार थिए। तर आसन केवल तीनवटा मात्र छन्। सबैलाई उम्मेद्वार बनाउन सकिँदैन। जसले असन्तोष व्यक्त गरेका छन् तिनीहरू आफ्नै तरिकाले अघि बढ्न सक्छन्।
कालेबुङ, दार्जीलिङ र खरसाङ यी तीनवटा आसनमा उम्मेद्वार घोषणा भएपछि भाजपाभित्र तीव्र असन्तोष फैलिएको थियो। दलका पूर्व दुई जिल्ला अध्यक्ष (पार्वतीय शाखा) मनोज देवान र कल्याण देवान, जिल्ला सह–अध्यक्ष राजेन मुखिया, सुकना मण्डल अध्यक्ष अजय शर्मा लगायत केही अग्रणी भाजपा नेताहरूले उम्मेद्वारबारे असन्तोष व्यक्त गरेका थिए। आफूहरूले यी उम्मेद्वारहरू स्वीकार नगर्ने अजय शर्माले पत्रकारहरूलाई बताएका थिए। त्यसपछि शुक्रवार असन्तुष्ट नेताहरूले सुकनामा बैठक गरेका थिए। त्यहाँ पहाड़का तीनवटा आसनमा निर्दल उम्मेद्वार खड़ा गर्ने र सबै नेताहरूले एकसाथ राजीनामा दिने निर्णय गरिएको थियो। बैठकपछि मनोज देवानले यस्तै बताएका थिए। तर 24 घण्टा नबित्दै स्थिति परिवर्तन भयो।
दलका सूत्रअनुसार दार्जीलिङ जिल्लाको चुनाउ जिम्मावारीमा रहेका केन्द्रीय नेता प्रदीप भण्डारीले शनिवार सिलगढ़ीमा केही असन्तुष्ट नेताहरूसित बैठक गरेका थिए। त्यहीँ केन्द्रीय नेतृत्वबाट उम्मेद्वार घोषणा भइसकेको छ अनि परिवर्तनको कुनै सम्भावना छैन भनेर ती नेताहरूलाई स्पष्ट भनिएको थियो। अन्य कुनै कुरा भन्नु छ भने भन्न सकिने नत्र अन्य कुनै निर्णय लिन सक्ने भनिएको थियो। तर दलले यस्ता गतिविधि सहन नगर्ने पनि बताइएको थियो। त्यसपछि असन्तुष्टहरू पछि हटिरहेका छन् किनकि निर्दल उम्मेद्वार खड़ा गरे पनि पहाड़मा केही मत कटाउनुबाहेक अन्य कुनै फाइदा नहुने धेरैले ठानेका छन्। फेरि दलबाट राजीनामा दिएर अन्य दलमा सामेल हुने अवस्था पनि त्यहाँ छैन। यस्तो परिस्थितिमा ती नेताहरू अहिले शान्त छन्। मनोज देवानले भने, दलबाट राजीनामा गर्ने वा निर्दल उम्मेद्वार दिने विषयमा हामीले अहिलेसम्म कुनै निर्णय गरेका छैनौँ। सबैसित फेरि बैठक बसेर आगामी निर्णय लिइनेछ।

By Paromita