गौतम देवद्वारा विभिन्न सङ्गठनसित बैठक

अहिले ठूलो सभा होइन। विभिन्न सङ्गठनहरूसित ससाना बैठक गर्दै चुनाउ मैदानमा रणनीति तयार गरिरहेका छन् सिलगढ़ीका तृणमूल कङ्ग्रेसका उम्मेद्वार तथा मेयर गौतम देव। चुनाउको घोषणासितै तिनले यस्तो रणनीति अपनाएका हुन्। पार्टी सूत्रअनुसार तिनले नियमित रूपमा पार्टीका विभिन्न समितिका नेता–कार्यकर्तासित बैठक गरिरहेका छन्। त्यससितै शिक्षक, प्राध्यापक, चिकित्सक, इञ्जिनीयर, वकिल, व्यवसायी, सरकारी कर्मचारी, खेलकुद सङ्गठनलगायत विभिन्न तहका व्यक्तिहरूसित पनि बारम्बार बैठक गरिरहेका छन् मेयरले। साथै होर्डिङ, पार्टी झण्डा र चुनाउ कार्यालय पनि सञ्चालनमा ल्याइएको छ। एक–दुई दिनभित्र पदयात्रा, जनसभा र रोड शो आरम्भ गरिनेछ। उता वार्ड–वार्डमा पुगेर जनसम्पर्क अभियान गरिरहेका छन् भाजपाका उम्मेद्वार शङ्कर घोषले।
मेयर गौतम देवले भने, म मुख्यमन्त्री ममता ब्यानर्जीको सैनिक हुँ। तिनले देखाएकी बाटोमै म वर्षभरि जनतासित रहेको छु। अहिलेसम्म 21 वटा वार्डमा कार्यक्रममार्फत जनतासम्म पुगेको छु र 192.69 किलोमिटर दूरी पार गरेको छु। नागरिकहरूको घरमा रात पनि बिताएको छु। त्यसैले अहिले चुनाउको मैदानमा उत्रिँदा पार्टी कार्यकर्ताहरूसितै नागरिकहरूबाट व्यापक समर्थन पाइरहेको छु।
तीन दिनअघि तृणमूलले उम्मेद्वारहरूको सूची घोषणा गरेको थियो। त्यसै दिन सिलगढ़ीका उम्मेद्वार गौतमले मल्लागुड़ीको हनुमान मन्दिरमा पूजा गरे। त्यसपछि तिनलाई ठूला रोड शो वा सभा गरेको देखिएको छैन। तृणमूल सूत्रअनुसार शहरका 33 वटा वार्ड मिलेर सिलगढ़ी निर्वाचन क्षेत्र बनेको छ। यहाँ पार्टीका चारवटा टाउन कमिटी छन्। यसअघि नै मेयरले ती कमिटीहरूसित बैठक गरिसकेका छन्। साथै विद्यार्थी, युवा, महिला, मजदुर, शिक्षक, प्राध्यापक, चिकित्सक, इञ्जिनीयर, वकिल, व्यवसायी, सरकारी कर्मचारी तथा खेलकुद सङ्गठनहरूसित पनि बारम्बार बैठक गरिरहेका छन्। यसबाहेक विभिन्न सामाजिक सङ्गठनहरूसित पनि सम्पर्क गरिरहेका छन्।
मेयरले भने, यो मेरो जन्मभूमि हो। यस शहरलाई सजाउन चाहन्छु। त्यसैले आफ्ना सपना लिएर सबैको माझमा जाँदैछु। यति मात्र होइन अनुभवी राजनीतिज्ञ गौतमले भोट क्याचरहरूसहित मैदानमा रणनीति पनि तयार गरिरहेका छन्। पार्टी सूत्रअनुसार 33 वटा वार्डमा कतै एकजना त कतै दुईजना पर्यवेक्षक नियुक्त गरिएको छ। 30 वटा चुनाउ कार्यालय खोलिएको छ। तृणमूलका यहाँका संयोजक कुन्तल रायले भने, चुनाउ युद्धको ब्लुप्रिण्ट तयार भइसकेको छ। एक–दुई दिनमै प्रचारमा तीव्रता आउनेछ। उता सम्बन्धित क्षेत्रका भाजपा उम्मेद्वार शङ्कर घोष पनि मैदानमा उत्रिसकेका छन्। विभिन्न क्षेत्रमा घुम्दै तिनले जनसम्पर्क गरिरहेका छन्। नगरपालिकाका विपक्षी दलका नेता तथा भाजपाका अमित जैनले भने, अहिले तृणमूल उम्मेद्वारले बारम्बार बैठक गरेर केही गर्न सक्दैनन्। प्रचारमा भाजपाका उम्मेद्वार नै अघि छन्।

By Paromita