मेडिकल फाँड़ीको विधानपल्ली क्षेत्रबाट हराएका 10 वर्षीय नाबालकको दुःखद अन्त्य सार्वजनिक भएको छ। हराएको सात दिनपछि आफ्नै सौतेला छोरालाई योजनाबद्ध रूपमा हत्या गरिएको थाहा भयो। हत्याको आरोप सौतेला पिता उत्तम बर्मनविरुद्ध लागेको छ। शीतलकुचीका वासिन्दा उक्त आरोपीलाई मङ्गलवार राति पुलिसले गरेको जाँचपड़तालमा तिनले हत्या गरेको स्वीकार गरेको छ।
छोरा हराउनुको पछाड़ि आफ्नै श्रीमानमाथि शङ्का व्यक्त गरेकी थिइन् श्रीमती सावित्री बर्मनले। बितेको बिहीवार चार्जर लिनुपर्ने बहानामा घर फर्किएर उत्तमले तिनको छोरालाई लिएर बाहिर निस्किएको तिनले आरोप लगाएकी थिइन्। त्यसपछि नै छोराको कुनै खबर पाइएन। सावित्रीको उजुरीको आधारमा गत आइतवार पुलिसले उत्तमलाई पक्राउ गरेको थियो। सोमवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गर्दा न्यायाधीशले एक दिनको न्यायिक हिरासतको आदेश दिएका थिए। त्यसपछि मङ्गलवार पुनः सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गर्दा 5 दिनको पुलिस हिरासतको आदेश दिइएको थियो। त्यसपछि मङ्गलवार राति निरन्तर सोधपुछ गर्दा सम्पूर्ण रहस्यको खुलासा भयो।
पुलिस सूत्रअनुसार सोधपुछमा उक्त नाबालक मन नपर्ने हुँदा नै तिनलाई हटाउने योजनासहित नै उ यसपल्ट शीतलकुचीबाट मोटरसाइकल लिएर विधानपल्ली आएको उत्तमले स्वीकार गरेको छ। घटनाको दिन तिनले नाबालकलाई लिएर गजलडोबाको सब-क्यानलमा फ्याँकेको थियो। बुधवार बिहानदेखि मेडिकल फाँड़ी पुलिसले गजलडोबाको उक्त क्यानलमा नाबालकको शव खोज्नका लागि खोजी अभियान आरम्भ गरेको छ।
घृणित प्रतिशोधको शिकार 10 वर्षीय बालक
