ग्यास नपाएपछि खोरीबारी हाई स्कूलमा स्वयं स्वनिर्भर समूहका महिलाहरूले घरबाट सिलिण्डर ल्याएर मिड डे मिल पकाइरहेका छन्। यस्तै अवस्थाका कारण सिलगढ़ी शहरका विभिन्न विद्यालय, माँ क्याण्टिन, अस्पताल तथा सरकारी कार्यालयका क्याण्टिनहरू पनि यसै गरी सञ्चालन गरिँदैछ। यस्तो परिस्थितिमा आज शुक्रवार सिलगढ़ी नगर निगमले ग्यास एजेन्सीहरूसित बैठक बस्दैछ। अवस्थाको समीक्षा गरेपछि आवश्यक कदम चालिने आश्वासन दिइएको छ।
सिलगढ़ी महकुमामा खाना पकाउने ग्यासको तीव्र अभावका कारण खोरीबारी हाई स्कूल प्रभावित भएको छ। विद्यालय सूत्रअनुसार दैनिक पाँचौँदेखि आठौँ कक्षासम्म 625 विद्यार्थीहरूले मिड डे मिल खान्छन्। यसका लागि हप्तामा दुईवटा अर्थात् महीनामा आठवटा सिलिण्डर आवश्यक पर्छ। दुई दिनअघि स्थानीय एजेन्सीसित सम्पर्क गर्दा पनि स्वयं स्वनिर्भर समूहले सिलिण्डर जुटाउन सकेन। अहिले समूहका महिलाहरूले घरबाट सिलिण्डर ल्याएर मिड डे मिल पकाइरहेका छन्। विद्यालयकी टीआईसी साधना साहाले भनिन्, अहिले समूहका महिलाहरूको सहयोगमा मिड डे मिल सेवा सञ्चालनमा राखिएको छ। तत्काल दुईवटा सिलिण्डरको व्यवस्था गर्न वितरकसित कुराकानी गरिनेछ। यदि सम्भव नभए दाउरा प्रयोग गरेर खाना पकाउने व्यवस्था गर्नु पर्नेछ। त्यसका लागि तयारी पनि गरिँदैछ।
सिलगढ़ी शहरका सातवटा माँ क्याण्टिनसहित विभिन्न सरकारी कार्यालय, अस्पतालका क्याण्टिन तथा शहर र ग्रामीण क्षेत्रका प्राथमिक, जुनियर हाई र हाई स्कूलहरूमा पनि यस्तै अवस्था देखिएको छ। नगर निगम सूत्रअनुसार सातमध्ये चारवटा माँ क्याण्टिनका ग्यास सिलिण्डर खाली हुने अवस्थामा पुगेका छन्। तिनीहरूले प्रयास गरे पनि बुकिङ गर्न सकेका छैनन्। खोरीबारी हाई स्कूलमा जस्तै तिनीहरूले पनि सिलिण्डर जुटाएर खाना पकाइरहेका छन्। यस अवस्थालाई ध्यानमा राख्दै आज सिलगढ़ी नगर निगमले खाना पकाउने ग्यासका विभिन्न एजेन्सी र वितरकहरूसित बैठक बस्नेछ। नगर निगमको मिड डे मिल विभागकी मेयर परिषद सदस्य अभया बसुले भनिन्, शहरका सबै विद्यालयसित सम्पर्क राखिएको छ। अहिलेसम्म कतै समस्या देखिएको छैन। तैपनि परिस्थितिलाई ध्यानमा राख्दै बैठक बोलाइएको हो। अवस्थाको समीक्षा गरेर आवश्यक कदम चालिनेछ।
घरकै सिलिण्डरले मिड डे मिल
