पश्चिम एसियामा भइरहेको युद्धको प्रभाव अहिले प्रत्यक्ष रूपमा गौड़ बङ्गका विद्यालयहरूमा देखिन थालेको छ। मिड–डे मिल पकाउन प्रयोग हुने ग्यास तीव्र रूपमा सकिँदै गएको छ। केही विद्यालयहरूमा त ग्यास पहिले नै सकिएको छ। त्यसकारण विद्यार्थीहरूलाई ड्राई फ्रुट्स वितरण गरिँदैछ। परिस्थितिले जुन दिशा लिइरहेको छ त्यसले आपतकालीन रूपमा एलपीजी सिलिण्डर जुटाइए पनि कति दिनसम्म पुग्ने हो भन्ने चिन्ता प्राथमिक तथा उच्च प्राथमिक विद्यालयका शिक्षक–शिक्षिकाहरूमा बढ्दै गइरहेको छ। शिक्षा प्रशासनका अधिकारीहरू पनि सचेत भएका छन्। विद्यालयहरूमा मिड–डे मिलका लागि प्रयोग हुने इन्धन ग्यासको अवस्था कस्तो छ भन्ने विषयमा गौड़ बङ्गका तीनवटै जिल्लामा खोजबिन आरम्भ गरिएको छ। आज दक्षिण दिनाजपुरको बालुरघाट हाई स्कूलमा मिड–डे मिल पकाउने क्रममा ग्यास सकिएको थियो। विद्यालय प्रशासनले सिलिण्डर जुटाउन सकेन। त्यसैले आज विद्यार्थीहरूलाई ड्राई फ्रुट्स दिइएको छ। जिल्लाका अरू धेरै विद्यालयहरूमा पनि इन्धनको विषयमा वैकल्पिक उपायबारे विचार गर्न आरम्भ गरिएको छ। ग्रामीण क्षेत्रका विद्यालयहरूमा कतिपय अवस्थामा अन्य इन्धन प्रयोग गरेर खाना पकाइए पनि शहर क्षेत्रका अधिकांश विद्यालयहरू सिलिण्डर ग्यासमै निर्भर छन्।
बालुरघाट हाई स्कूलका प्रधानाध्यापक श्रीजित साहाले भने, आज खाना पकाउने क्रममा ग्यास सकिएको थियो। त्यसैले विद्यालयमा खाना पकाउन सकिएन। त्यसको साटो बालक-बालिकालाई ड्राई फ्रुट्स दिइयो। प्रशासनको सहयोगमा एउटा ग्यास सिलिण्डर जुटाइएको छ। बिहीवार पकाएको खाना वितरण गरिनेछ। बालुरघाट शहरको अशुतोष बालिका विद्यालयमा पनि शिक्षिकाहरू चिन्तित छन्। प्रधानाध्यापिका पम्पा दासले भने, हामीसित रहेको ग्यासले बढ़ीमा तीन दिनसम्म मात्र खाना पकाउन सकिन्छ। ग्यास बुक गरिएको छ तर कहिले आउने हो थाहा छैन। अन्ततः के हुन्छ भनेर भन्न गाह्रो छ।
डीपीएससीका अध्यक्ष सन्तोष हाँसदाले भने, ग्यासको अभाव हुँदा धेरै विद्यालय प्रशासन समस्यामा परेका छन्। धेरैले तिनलाई फोन गरिरहेका छन्। यसरी नै चलिरहे धेरै कठिनाइ हुने तिनले बताए। मालदाको इङ्लिसबजार ब्लकस्थित शोभानगर उच्च विद्यालयमा दैनिक लगभग 1 हजार 300 विद्यार्थीहरूले मिड–डे मिल खान्छन्। महीनामा 8 वटा एलपीजी सिलिण्डर आवश्यक पर्छ। प्रधानाध्यापक हरिस्वामी दासले भने, बिहीबार विद्यालयका शिक्षक–शिक्षिका र व्यवस्थापन समितिका सदस्यहरूसित यस विषयमा छलफल गर्नेछौँ। कुनै न कुनै उपाय त निकाल्नै पर्नेछ।
ग्यास अभावले मिड–डे मिल बन्द
