चारैतिर जति टाढ़ासम्म आँखा पुग्छ केवल सुक्खा र रुखोपनको छाप देखिन्छ। एक समय हरियालीले ढाकिएको जलदापाड़ा राष्ट्रिय निकुञ्जको विशाल घाँसको मैदान अहिले सुकेर लगभग मरुभूमि जस्तै बनेको छ। एकातिर प्राकृतिक विपत्तिका कारण आएको बाढ़ीले ल्याएको पली माटोले विशाल क्षेत्रका घाँसहरू पुरिएका थिए जसले आजसम्म पनि बिहानको घाम देख्न पाएका छैनन्। त्यसमा घाउमाथि नुन छर्केझैँ लामो खड़ेरीले थप चोट पुर्यामएको छ। जहाँ बाढ़ीको पली पुगेन त्यहाँ पनि पानीको अभावका कारण घाँस काठझैँ सुकिसकेको छ। सामान्यतः अन्य वर्षहरूमा यस समयसम्म कम्तीमा केही चरणमा राहत दिने वर्षा भइसकेको हुन्छ। तर यस वर्षको अवस्था पूर्ण रूपमा फरक छ। गत वर्षको अक्टोबर 5 पछि यस क्षेत्रमा जमीनमा एक थोपा पनि वर्षा परेको छैन। लामो समयदेखि लगातार चलिरहेको यस खड़ेरीका कारण जलदापाड़ाको प्राकृतिक सन्तुलन बिग्रँदै गएको छ जसको गम्भीर प्रभाव घाँस खाने वन्यजन्तुहरूमा परेको छ। गैँड़ा अत्यन्त मन पराउने खाना ढाड्डा, चेपटी, पुरुण्डी र नल घाँस हुन्। तर लामो समयको अनावृष्टिका कारण विशाल क्षेत्रमा रहेका यी मन पर्ने घाँसहरू पूर्ण रूपमा सुक्दै नष्ट भइसकेका छन्। परिणाम स्वरूप अहिले घाँस खाने वन्यजन्तुहरू बाध्य भएर सुकिसकेको घाँस र लतापातामै निर्भर भएर बाँच्नु परेको छ।
वन्यजन्तु मात्र होइन जलदापाड़ाका कुनकी हात्तीहरू पनि ठूलो कष्ट भोगिरहेका छन्। जलदापाड़ाका पशु चिकित्सक उत्पल शर्माले भने, यदि मानिसले दैनिक सब्जी, माछा वा मासु बिना केवल भात मात्र खाएर बस्नु पर्यो् भने जस्तै तिनीहरूको स्वादमा प्रभाव पर्छ, ठीक त्यस्तै अवस्था अहिले कुनकी हात्तीहरूको पनि भएको छ। हाल यस राष्ट्रिय निकुञ्जका कुल 85 वटा कुनकी हात्तीहरूको दैनिक मुख्य आहार गाउँबाट सङ्कलन गरेर ल्याइने केराको बोट बनेको छ। साथै पोषणको कमी पूर्ति गर्नका लागि तिनीहरूलाई चामल, दाल र गुड मिसाएर बनाइएको मिश्रण पनि खुवाइँदैछ। जलदापाड़ाका पर्यटक मार्गदर्शक कल्याण गोपले बताएअनुसार सम्पूर्ण राष्ट्रिय निकुञ्जमा अहिले केही नालाका किनारमा मात्र अलिकति हरियो घाँस देख्न पाइन्छ। जङ्गलभित्र बाँकी रहेको यही थोरै हरियालीको आकर्षणले ती स्थानहरूमा वन्यजन्तुको भीड़ क्रमशः बढ्दै गएको छ। पर्याप्त आहारको अभावका कारण त्यही सीमित घाँस खान गैँड़ा, बाइसन, हरिण र जङ्गली हात्तीहरूबीच क्षेत्र कब्जाको सङ्घर्ष तथा आपसी झड़प दिन प्रतिदिन बढ्दै गएको छ।
जङ्गलभित्र लगाइएका धेरै घाँसका प्लाण्टेशनहरू पनि पानीको अभावका कारण पूर्ण रूपमा सुकिसकेका छन्। जलदापाड़ामा कार सफारीका गाड़ीका मालिक रञ्जन दत्तले जङ्गलको यस भयावह अवस्थाबारे उल्लेख गर्दै भने, चारैतिर केवल सुक्खा घाँस मात्र देखिन्छ। जहाँ पहिले वन्यजन्तुको भीड़ लाग्थ्यो अहिले त्यहाँ केवल सुकिसकेको घाँसको विशाल तह मात्र बाँकी छ। क्षितिजसम्म फैलिएको यस सुक्खा घाँसमा यदि कसैले भूलवश एउटा बलिरहेको चुरोटसमेत फ्याँके आगोले पूरा क्षेत्र नै निल्न सक्छ भन्ने डर तिनलाई सबैभन्दा बढ़ी लागेको छ। यति धेरै प्रतिकूल अवस्थाबीच पनि जलदापाड़ा उत्तर रेञ्जका रेञ्ज अफिसर रामिज रोजरले भने, वन्यजन्तुहरू परिस्थिति र वातावरणसित आफूलाई अनुकूल बनाउन जान्दछन्। तिनीअनुसार अहिलेसम्म स्थिति नियन्त्रणमै रहेको छ।
वर्षा नहुँदा जल्दापाड़ा मरुभूमि झैँ!
