उत्तर बङ्गालमा अझ नयाँ–नयाँ पर्यटन स्थलहरू खोज्ने कार्यमा पर्यटन विभागले जोड़ दिइरहेको छ। प्रत्येक पर्यटन केन्द्रसित सड़क सम्पर्क सुधार गर्ने निर्णय पनि गरिएको छ। साथै आम्दानी बढ़ाउन सरकारी पर्यटन आवासहरूलाई वेडिङ डेस्टिनेशनको रूपमा अझ व्यापक रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि राज्यको पर्यटन विभागले गरेको छ। सिलगढ़ीमा पर्यटन व्यवसायीहरूसित गरिएको छलफलपछि राज्यको पर्यटन विभागका अतिरिक्त मुख्य सचिव वरुण रायले यस्तो जानकारी दिएका हुन्। वरुण रायले भने, भारत सरकारको तथ्याङ्कअनुसार गत वर्ष पश्चिम बङ्गालमा 31 लाख विदेशी पर्यटकहरू आएका थिए। यसबाट राज्यको पर्यटनप्रति विश्वभरका मानिसहरूको चासो बढ्दै गइरहेको प्रमाणित हुन्छ। तिनले भने, ‘गजलडोबा पर्यटन स्थललाई अझ लोकप्रिय बनाउन सौन्दर्यीकरणको पहल भइरहेको छ। त्यहाँ प्रजापति पार्क र अर्किड पार्क पनि बनाइनेछ। मैनाक पर्यटन प्रोपर्टीमा व्यवसायीहरूसित छलफल कार्यक्रमको आयोजना पर्यटन विभागले गरेको थियो। पर्यटन, होटल, होमस्टे तथा यातायात व्यवसायसित सम्बन्धित विभिन्न सङ्गठनका प्रतिनिधिहरू र गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेशन (जीटीए) का अधिकारीहरू पनि उक्त छलफलमा सहभागी भएका थिए। त्यहाँ पर्यटनको भविष्य विषयमा विभिन्न सङ्गठनका पदाधिकारीहरूले आफ्ना मत राखे।
पत्रकार सम्मेलनमा अतिरिक्त मुख्य सचिवले भने, उत्तर बङ्गालमा अझ नयाँ–नयाँ पर्यटन केन्द्रहरू पहिचान गर्ने पहल भइरहेको छ। उत्तर क्षेत्रको अर्थतन्त्र सुदृढ़ बनाउन टी–टुरिजम परियोजनाअन्तर्गत चियाबारीहरूको प्राकृतिक सौन्दर्य जोगाउँदै होटल तथा रेस्टुरेण्ट निर्माण गर्ने र स्थानीय वासिन्दाहरूले उत्पादन गरेका विभिन्न वस्तुहरूको प्रदर्शनीको व्यवस्था पनि गरिँदैछ। पर्यटन व्यवसायी सम्राट सन्यालले भने, होमस्टे पर्यटनलाई अझ महत्त्व दिने कुरा गरिएको छ। विभिन्न अफबिट पर्यटन स्थलहरूमा पनि धेरै होमस्टे सञ्चालन भइरहेका छन्। होमस्टे दर्ताका लागि वन विण्डो प्रणाली लागू गर्ने र हेरिटेज स्थलहरूलाई पर्यटकका लागि अझ आकर्षक बनाउने विषयमा पनि चर्चा भएको छ।
अतिरिक्त मुख्य सचिवले भने, वेडिङ डेस्टिनेशनको माग दिन प्रतिदिन बढ्दै गइरहेको छ। अहिले केवल उच्च वर्ग मात्र होइन धेरै मध्यमवर्गीय परिवारले पनि विवाह समारोहका लागि पर्यटन आवास बूक गरिरहेका छन्। हामी पनि यस प्रवृत्तिलाई समेट्न चाहन्छौँ। बड़ोदिघी र गजलडोबा जस्ता धेरै स्थानमा रहेका सरकारी पर्यटन आवासहरू विवाह समारोह आयोजना गर्न भाड़ामा उपलब्ध गराइनेछ। तिनले भने, उत्तर बङ्गालमा दिन प्रतिदिन पर्यटकको सङ्ख्या बढ्दै गइरहेको छ। आगामी दिन यो सङ्ख्या अझ बढ़ाउने लक्ष्यमा पर्यटन विभागले कार्य गरिरहेको छ। छलफलमा पर्यटन विभागका सचिव सौमित्र सरकार सेनगुप्ता, पश्चिम बङ्गाल पर्यटन विकास निगमका प्रबन्ध निर्देशक अभिषेक तिवारीलगायत अन्य अधिकारीहरू उपस्थित थिए।
उत्तर बङ्गालको पर्यटनमा नयाँ दिशा खोज्दै राज्य
