एलपीजीको जताततै अभाव

व्यावसायिक ग्यास सिलिण्डरको बिक्री बन्द भएको छ। यसकारण उत्तर बङ्गालका होटल व्यवसायीहरू अन्योलमा परेका छन्। दार्जीलिङ पहाड़देखि सिलगढ़ी, कोचबिहारदेखि अलिपुरद्वारसम्म होटल व्यवसायीहरूले भान्साको ढोकामा ताला लगाउने सोच बनाउन थालेका छन्। यता खाना पकाउने ग्यास सिलिण्डरको कालोबजारी आरम्भ भएको आरोप लागेको छ। सिलगढ़ी र जलपाइगढ़ीका केही स्थानमा कटिङ ग्यास अत्यधिक महँगो मूल्यमा बिक्री भइरहेको पनि आरोप छ। यसै आरोपमा मङ्गलवार जलपाइगढ़ीमा एउटा डिलरको कार्यालयमा ग्राहकहरूले विरोध प्रदर्शन गरे। सिलगढ़ीमा विभिन्न डिस्ट्रिब्युटरहरूको कार्यालयमा पनि भीड़ देखियो। उत्तर बङ्गाल मात्र होइन राज्यका ठूला शहरहरूमध्ये एक हो सिलगढ़ी। शहरको पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्रमा असङ्ख्य होटलहरू छन्। यसबाहेक धेरै रेस्टुरेण्टहरू पनि छन्। सबै ठाउँमा व्यावसायिक सिलिण्डर प्रयोग गरेर खाना पकाइन्छ। तर यसको बिक्री बन्द भएपछि होटल मालिकहरू चिन्तित भएका छन्। बृहत् सिलगढ़ी होटल वेलफेयर एसोसिएशनका संयुक्त सचिव उज्ज्वल घोषले भने, होटलहरूमा सिलिण्डरको भण्डारण छैन। त्यसैले अहिले भएको सिलिण्डरले अझै दुई–तीन दिन मात्र खाना पकाउन सकिन्छ। त्यसपछि सिलिण्डर अभावले बन्द गर्नुपर्ने अवस्था आउनेछ। होटलको भान्सा घर जस्तै धेरै रेस्टुरेण्टहरू पनि बन्द हुन सक्ने अवस्था देखिएको छ।
यता खाना पकाउने ग्यास सिलिण्डरको विषयमा जनसाधारण पनि चिन्तित छन्। शहरका पाकुरतला, सुभाषपल्ली, एनजेपी लगायत विभिन्न क्षेत्रमा डिस्ट्रिब्युटरहरूको कार्यालयमा ग्राहकहरूको भीड़ लागिरहेको छ। अनलाइनमा बुकिङ गर्न नसकिएको तिनीहरूको गुनासो छ। त्यसैले अफलाइनमार्फत ग्यास बुकिङ गर्न तिनीहरू कार्यालय नै आएका हुन्। ग्यासको अभावका कारण कटिङ ग्यासको मूल्य पनि असामान्य रूपमा बढ़ेको तिनीहरूको आरोप छ। खाना पकाउने ग्यास सिलिण्डरको जलपाइगढ़ीमा कालोबजारी आरम्भ भएको छ। आरोपअनुसार मूल्य वृद्धिपछि प्रत्येक सिलिण्डरमा अतिरिक्त 60 रुपियाँ असुल गरिँदैछ। यसको विरोधमा शहरमा ग्यास डिस्ट्रिब्युटरको कार्यालयअघि ग्राहकहरूले प्रदर्शन गरे। तर यहाँ पनि व्यावसायिक ग्यास सिलिण्डर उपलब्ध नभएको गुनासो गरिएको छ।
यता ग्यास डिस्ट्रिब्युटर जलपाइगढ़ी डिस्ट्रिक्ट सेण्ट्रल को–ओपरेटिभ कञ्ज्युमर लिमिटेडका सचिव प्रदीप्त विश्वासले यी आरोप अस्वीकार गरेका छन्। विश्वासले बताएअनुसार सिलिण्डर बढ़ी मूल्यमा बिक्री भइरहेको छैन र व्यावसायिक ग्यास सिलिण्डरको डेलिभरी जारी नै छ। व्यावसायिक सिलिण्डरको बिक्रीमा कमी आउँदा अलिपुरद्वारमा होटल, रेस्टुरेण्ट र मिठाई व्यवसायीहरू चिन्तित छन्। अलिपुरद्वार टाउन होटल वेलफेयर एसोसिएशनका सचिव विष्णु भौमिकले भने, पूर्ण रूपमा बन्द नभए पनि व्यावसायिक सिलिण्डरको बिक्रीमा आएको कमीको केही प्रभाव परेको देखिन थालेको छ। यसले हामीलाई चिन्तित बनाएको छ। कोचबिहारका होटल व्यवसायीहरू पनि चिन्तित छन्। कोचबिहार होटल ओनर्स एसोसिएशनका सचिव प्रदीप मैत्रले भने, यदि सिलिण्डर उपलब्ध नभए होटल नै बन्द गर्नुपर्ने अवस्था आउनेछ।

By Paromita