विचाराधीन सूचीमा 36 हजारको नाम

तिनको आफ्नै क्षेत्र दिनाहट्टामा 36 हजार मानिसहरूको नाम विचाराधीन सूचीमा राखिएको छ। आउँदो विधानसभा चुनाउमा यो सङ्ख्या निर्णायक बन्न सक्ने सम्भावना छ। यस्तै अनुमान गर्दै उत्तर बङ्गाल विकास मन्त्री उदयन गुह अनशनमा बसेका छन्। यदि चुनाउ आयोगले मतदाता सूचीको विशेष सघन संशोधन अर्थात् एसआईआर गरेर योजनाबद्ध रूपमा कुनै एउटा राजनीतिक दलका मतदाताको नाम हटाउने प्रयास गर्छ अनि अर्को राजनीतिक दललाई सत्तामा ल्याउने प्रयास गर्छ भने त्यस राजनीतिक दलका कार्यकर्ताहरू चुप लागेर बस्ने छैनन्। तिनीहरूले पनि एसआईआर गरेर अर्को राजनीतिक दलका कार्यकर्ताहरूको नाम हटाउने प्रयास गर्नेछन्। कसरी गर्ने भन्ने तिनीहरूको विषय हो। सोमवार दिनाहट्टाको अनशन मञ्चबाट उदयन गुहले यस्तै चेताउनी दिएका छन्।
कोलकाताको धर्मतलास्थित मेट्रो च्यानलमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी एसआईआर मुद्दामा धर्नामा बसेकी छन्। उक्त धर्नाको समर्थनमा दिनाहट्टामा उत्तर बङ्गाल विकास मन्त्री उदयन गुह पनि अनशनमा बसेका छन्। सोमवार बिहान 9 बजीदेखि दिनाहट्टा सदर महकुमा अधिकारीको कार्यालयको ठीक विपरीत तिनले यो अनशन आरम्भ गरेका हुन्। तिनीसित तृणमूल कङ्ग्रेसका 200 नेता–कार्यकर्ताले पनि सहभागिता जनाए। मङ्गलवार बिहानसम्म 24 घण्टाको यो अनशन जारी रह्यो।
अनशन मञ्चबाट उदयनले पूर्व छिट क्षेत्र पोयातेरकुटीरको उल्लेख गर्दै भने, त्यहाँ एउटा बूथमा लगभग 800 मतदाताहरूले मतदान गर्न पाउने छैनन्। तिनीहरू अहिले नै सड़कमा उत्रिएर आन्दोलन गर्न चाहिरहेका छन्। तिनीहरूलाई अहिले रोकिएको छ। दिनाहट्टा विधानसभा क्षेत्रमा लगभग 36 हजार मानिसहरूलाई एडजुडिकेशन सूचीमा राखिएको बताउँदै मन्त्रीले आयोगको कठोर आलोचना गरेका छन्।

By Paromita