भाजपाको परिवर्तन यात्राअघि सिलगढ़ीमा अशान्ति

भाजपाको परिवर्तन यात्रा र सभाको अघिल्लो राति तयारीलाई केन्द्रित गर्दै सिलगढ़ी महकुमा परिषदका तृणमूल कङ्ग्रेसका सभाधिपति र मतिगढ़ा–नक्सलबारीका भाजपा विधायकबीच तीव्र विवाद भएको छ। तयारीको विषयबाट आरम्भ भएको उक्त विवाद एसआईआर र क्षेत्रको विकासको विषयसम्म पुग्यो। पछि पुलिसले स्थिति नियन्त्रणमा ल्यायो। तर त्यसपछि पनि क्षेत्रमा केही तनाउ कायम रहेकाले केन्द्रीय बलले रूट मार्च गरेको छ। फेरि नयाँ अशान्ति नहोस् भनेर पुलिस पिकेट पनि बसाइएको छ। मङ्गलवारदेखि सिलगढ़ीमा भाजपाको परिवर्तन यात्रा आरम्भ हुँदैछ। उक्त यात्रा सिलगढ़ी मतिगढ़ा हुँदै बेलुकीसम्म नक्सलबारी पुग्नेछ। यात्रामा भाजपाको महिला मोर्चाकी नेतृ रूपा गङ्गोपाध्याय, दार्जीलिङका सांसद राजु विष्ट, जलपाइगढ़ीका सांसद जयन्त राय, विधायक शिखा च्याटर्जी, शङ्कर घोष, आनन्दमय बर्मन, दुर्गा मुर्मू लगायत जिल्ला भाजपाका नेताहरू सहभागी रहनेछन्।
नक्सलबारी बस स्ट्याण्डमा एउटा सभाको पनि आयोजना गरिएको छ। उक्त सभाको तयारीका रूपमा सोमवार राति बस स्ट्याण्ड क्षेत्रमा भाजपाका कार्यकर्ता–समर्थकहरूले पार्टीको झण्डा लगाउने कार्य गरिरहेका थिए। तयारीको निरीक्षण गर्न स्थानीय विधायक आनन्दमय बर्मन त्यहाँ पुगेका थिए। त्यसै क्षेत्रमा सत्तारूढ़ दलका नेता तथा सिलगढ़ी महकुमा परिषदका सभाधिपति अरुण घोष पनि बसोवास गर्छन्। त्यहाँ दुई दिनपछि सत्तारूढ़ दलको पनि एउटा सभा हुने कार्यक्रम छ। त्यसैले तृणमूल कङ्ग्रेसका कार्यकर्ता–समर्थकहरूले पनि प्रत्युत्तर स्वरूप आफ्ना पार्टीका झण्डा लगाउन आरम्भ गरे। त्यस समयमा तयारीको निरीक्षण गर्न अरुण घोष पनि त्यहाँ उपस्थित थिए। त्यहीँबाट उक्त विवाद आरम्भ भयो। भाजपाका विधायक आनन्दमय सभा स्थलनजिकै तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले षड़यन्त्रपूर्वक भाजपाको झण्डा खोलेर सत्तारूढ़ दलको झण्डा लगाइरहेका बर्मनले सभाधिपतिलाई आरोप लगाए। अरुण घोषले त्यसको प्रतिवाद गरेपछि विवाद आरम्भ भयो।
अरुण घोषलाई यसो भनेको सुनियो, क्षेत्रमा भाजपाले कुनै विकास गरेको छैन। सबै विकास ममता ब्यानर्जीले गरेकी छन्। क्षेत्रका सयजना मानिसहरूलाई सोध्दा सबैले यही भन्नेछन्। कार्य गरेको भए मानिसहरूसित भोट माग्नुपर्ने थिएन। त्यसमाथि फेरि एसआईआरमा धेरैको नाम काटिएको छ। यसपालि कसैले पनि भोट दिने छैन। जवाबमा आनन्दमय बर्मनले भने, हिन्दूहरूको भोट काटियो भने हामी बुझ्नेछौँ। पहिले जितेर देखाउनुहोस्। त्यसपछि विवादको खबर पाएपछि नक्सलबारी थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिस त्यहाँ पुगेर स्थिति नियन्त्रणमा ल्यायो। अशान्तिको विषयमा विधायक आनन्दमय बर्मनले भने, तृणमूल कङ्ग्रेसले हाम्रो सभा विफल पार्ने योजना बनाइरहेको थियो। हाम्रो यो सभा र परिवर्तन यात्राप्रति मानिसहरूको आकर्षण देखेर तिनीहरू डराएका छन्। त्यसैले यस्तो कार्य गरिरहेका छन्। अरुण घोषले भने, विधायक भएर पनि क्षेत्रमा एउटा कार्य गरेको छैन। एसआईआरमा धेरै मतदाताहरूको नाम काटिँदैछ। हाम्रो पार्टीका कसैले पनि भाजपाको झण्डा खोलेका छैन। हाम्रो पनि सभा छ। त्यसैले हामीले पनि पार्टीको झण्डा लगाइरहेका थियौँ।

By Paromita