खाना पकाउने ग्यासको मूल्य एकैचोटि 60 रुपियाँ बढ़ेको छ। यसकारण सामान्य मानिसहरूको खर्च बढ़ेको छ। त्यससितै चिन्ता पनि बढ़ेको छ। यसपछि पनि निर्धारित समयमा इन्धन ग्यास पाइन्छ कि पाइँदैन भन्ने विषयमा धेरै गृहस्थीहरू चिन्तित छन्। चिन्तित उपभोक्ताहरूले एलपीजी वितरकहरूलाई फोन गरिरहेका छन्। यससितै मूल्य बढ्नअघि सिलिण्डर बुक गरेका उपभोक्ताहरूले पनि अतिरिक्त मूल्य तिर्नु परेको छ। यस विषयमा पनि असन्तोष देखिएको छ। 21 दिनअघि सिलिण्डर बुक गर्न नपाइने भन्ने निर्देशनलाई बढ़ाएर अहिले 25 दिन गरिएको छ। यसले एलपीजी ग्यास प्रयोगकर्ताहरूको चिन्ता बढ़ाएको छ।
इङ्ग्लिश बजारको तालतला क्षेत्रकी वासिन्दा पूजाश्री बोसले भनिन्, मैले 20 दिनअघि सिलिण्डर बुक गरेकी थिएँ। घरमा आफन्तहरू आउँदा ग्यास समयअघि नै सकियो। तर अहिले 25 दिनअघि सिलिण्डर बुक गर्न पाइँदैन भनिएको छ। बाध्य भएर इण्डक्सन ओभेनमा खाना पकाउनु परिरहेको छ। मूल्य बढ़ेपछि पनि सिलिण्डर पाउने विषयमा आएको यो समस्या निकै असुविधाजनक बनेको छ। भास्वती सेनगुप्ताले पनि लगभग यस्तै भनाइ राखिन्। सेनगुप्ताले भनिन्, पहिले बुकिङ गरेपछि दुई दिनभित्रै सिलिण्डर पाइन्थ्यो। यसपल्ट भने लगभग पाँच दिनपछि मात्रै आएको छ। जब मैले सिलिण्डर बुकिङ गरेकी थिएँ, त्यो बेला देखाइएको मूल्यभन्दा अहिले बढ़ी तिर्नु परेको छ। साथै समयमा खाना पकाउने ग्यास पाइन्छ कि पाइँदैन भन्ने चिन्ता पनि छ।
उत्तर बङ्गाल र सिक्किम एलपीजी वितरक सङ्घका अध्यक्ष सोमेशचन्द्र दासले भने, नियमअनुसार उपभोक्ताहरूलाई बुकिङअनुसार खाना पकाउने ग्यास पुर्यालइरहेका छौँ। तर तिनीहरूको चिन्ता पनि हामीले बुझिरहेका छौँ। धेरैले राति अबेरसम्म फोन गरेर सिलिण्डर पाउन कति ढिलो हुन्छ भनेर सोधिरहेका छन्। कोही त आफै पनि आउँछन्। जसको घरमा अझै ग्यास छ तिनीहरूले पनि अतिरिक्त सिलिण्डर मागिरहेका छन्। सबैलाई नियमअनुसार नै सिलिण्डर उपलब्ध गराइनेछ भनेर बुझाइरहेका छौँ। बढ़ेको मूल्यबारे सोमेशले भने, पेट्रोल, डिजल र खाना पकाउने ग्यासको हकमा मूल्य वृद्धि हुँदा डेलिभरीको समयमा लागू भएको मूल्य नै मान्य हुन्छ। एउटा सिलिण्डर हात परेपछि 25 दिनपछि मात्र नयाँ बुकिङ गर्न पाइने नियम अहिले लागू छ।
एलपीजी ग्यासले ग्राहकहरू चिन्तित
