नाम मात्रै इञ्चार्ज तर सिलगढ़ीमा देखिँदैनन् निशीथ!

पूर्व केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकलाई सिलगढ़ी सङ्गठनात्मक जिल्लाको इञ्चार्जको रूपमा भारतीय जनता पार्टीले नियुक्त गरेको छ। तर विधानसभा चुनाउ आउन लाग्दा पनि तिनलाई सिलगढ़ीमा खासै देख्न पाइँदैन। तिनको कुनै विशेष कार्यक्रम नदेखिएको दलकै एक अंशको आरोप छ। केही सभामा उपस्थित भए पनि तिनी प्रत्यक्ष रूपमा मैदानमा उत्रेर कार्य नगरेका साथै कार्यकर्ताहरूको मनोबल बढ़ाउन छुट्टै पहल नगरेको बताउँदै दलभित्रै चर्चा चुलिरहेको छ। शीर्ष नेताहरूले तिनलाई दिएका यस्तो महत्त्वपूर्ण जिम्मावारी पूरा गर्न आवश्यक कदमहरू त्यति नदेखिएको दलका केही कार्यकर्ताको दाबी छ। त्यसैले जिम्मावारी दिएर दलले निशीथमाथि राखेको विश्वास ठीकसित पूरा हुन्छ कि हुँदैन भन्ने विषयमा कार्यकर्तामाझ अन्योलता छ।
यस विषयमा जिल्लाका इञ्चार्ज तथा पूर्व मन्त्री निशीथ प्रमाणिकले भने, यो कुरा पूर्ण रूपमा युक्तिसङ्गत हो। यति कम समयमा सबै ठाउँमा पुग्न सकिँदैन। तर जिल्ला स्तरमा बैठक गरिसकेको छु। आगामी दिन व्यक्तिगत रूपमा प्रत्येक मण्डलमा कार्यकर्तासम्म पुग्नेछु। सिलगढ़ी सङ्गठनात्मक जिल्ला भाजपाका अध्यक्ष अरुण मण्डलले भने, निशीथले दलको निर्देशनअनुसार आफ्नो काम गरिरहेका छन्। कसले के भनिरहेको छ भन्ने कुरामाथि ध्यान दिइरहेका छैनौँ। तिनी सक्रिय रूपमा आफ्नो जिम्मावारी पूरा गरिरहेका छन्। लगभग त्यस्तै स्वरमा दलका प्रवक्ता सञ्जीव सिकदारले भने, जिम्मावारी पाएका पर्यवेक्षक यहाँ आएका थिए। कार्यकर्ताको मन जितेर गएका छन्। चुनाउअघि पक्कै फेरि आउनेछन्।
राज्यमा विधानसभा चुनाउ नजिकिँदैछ। त्यसअघि सिलगढ़ी सङ्गठनात्मक जिल्ला भाजपाको जिम्मावारी कोचबिहारका पूर्व सांसद निशीथ प्रमाणिकलाई दिइएको छ। सिलगढ़ी, मतिगढ़ा–नक्सलबारी र फाँसीदेवा विधानसभा चुनाउको जिम्मावारी प्रत्यक्ष रूपमा तिनीमाथि छ। जिम्मावारी लिएपछि केशरी शिविरका केही कार्यकर्ताले सोचेका थिए कि तिनी पूर्ण रूपमा सक्रिय भएर अघि बढ्नेछन्।

By Paromita