छोरीलाई ट्युशनबाट लिएर घर फर्किने क्रममा जलपाइगढ़ीका तृणमूल नेता लुत्फर रहमान दुर्घटनामा परे। तिनलाई ट्रकले कुल्चिँदा घटनास्थलमै तृणमूल नेताको मृत्यु भयो। तिनको मृत्युको खबर फैलिन साथ क्षेत्रमा तनाउ फैलियो। मृतकका परिवारजनहरूले 31 नम्बर राष्ट्रिय राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरे। पुलिसको गाड़ीमा समेत तोड़फोड़ गरियो।
स्थानीय सूत्रअनुसार मङ्गलवार राति छोरीलाई ट्युशनबाट लिएर मोटरसाइकलमा घर फर्किरहेका तृणमूल जलपाइगढ़ी सदर 2 नम्बर ब्लकका अल्पसङ्ख्यक सेलका अध्यक्ष लुत्फरलाई 31 नम्बर राष्ट्रिय राजमार्गको गोशाला मोड़ क्षेत्रमा एउटा अनियन्त्रित ट्रकले ठक्कर दियो। दुवैजना सड़कमा उछिट्टिए। ट्रकले लुत्फरलाई कुल्चिँदै अघि बढ्यो। घटनास्थलमै तिनको मृत्यु भयो। गम्भीर घाइते तिनकी छोरीलाई जलपाइगढ़ी मेडिकल कलेज लगियो। त्यहाँ तिनको उपचार भइरहेको छ।
प्रत्यक्षदर्शीहरूअनुसार, मोटरसाइकललाई ठक्कर दिएपछि पनि ट्रक रोकिन सकेन। ट्रक तृणमूल नेतालाई कुल्चिँदै अघि बढ्यो। मोटरसाइकल ट्रकमा अड़किएको थियो। त्यस्तो अवस्थामै मोटरसाइकललाई केही किलोमिटरसम्म घिसार्दै ट्रक अघि बढ्यो। सडकमा लगातार घिस्रिँदा एक समयमा त्यसमा आगो समेत लाग्यो। पछि पुलिसले ट्रकलाई नियन्त्रणमा लियो। तृणमूल नेताको मृत्युको खबर फैलिन साथ क्षेत्रमा तनाउ बढ्यो। स्थानीय मानिसहरूले 31 नम्बर राष्ट्रिय राजमार्ग अवरुद्ध गरे। अवरोध हटाउन पुगेका पुलिसविरुद्ध तिनीहरूले आक्रोश व्यक्त गरे। पुलिसका गाड़ीहरूमा तोड़फोड़ गरियो। अवस्था नियन्त्रणमा लिन पछि ठूलो सङ्ख्यामा पुलिस बल घटनास्थलमा पठाइयो। घटनाबारे जलपाइगढ़ी पुलिस अधीक्षक वाई रघुवंशीले भने, दुर्घटनापछि ट्रकलाई तत्काल नियन्त्रणमा लिइएको हो। एकजनालाई नियन्त्रणमा लिइएको छ। केही व्यक्तिले पुलिस गाड़ीमाथि आक्रमण गरेका छन्। पुलिस गाड़ीमा तोड़फोड़ गर्नेहरूलाई पहिचान गरिएको छ। यस घटनामा दुईजनालाई पक्राउ पनि गरिएको छ।
ट्रकको ठक्करले तृणमूल नेताको मृत्यु
