सिलगढ़ीको मतिगढ़ामा 15 वर्षीय नाबालक शुभजित मोदकको हत्या प्रकरणमा मुख्य आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम राज पासवान हो। मङ्गलवार सिलगढ़ीबाट भाग्ने प्रयास गरिरहेको बेला कावाखाली क्षेत्रबाट मतिगढ़ा थाना पुलिसले तिनलाई नियन्त्रणमा लिएको हो। आज बुधवार कठोर सुरक्षा व्यवस्थाबीच आरोपीलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको छ। पुलिस तथा परिवार सूत्रअनुसार गत शनिवार पेशाले टोटो चालक राज पासवानले फोन गरेर शुभजितलाई घरबाट बोलाएर लगेका थिए। त्यसपछि उक्त नाबालकको कुनै अत्तोपत्तो लागेन। परिवारका तर्फबाट मतिगढ़ा थानामा निखोज बनेको शुभजितबारे नालिश दर्ता गरिए पनि छोराको पत्तो नलागेपछि आक्रोशित आफन्तहरूले थानाअघि विरोध प्रदर्शन गरेका थिए।
जाँचको क्रममा सोमवार मध्य राति सुकना फरेस्ट क्षेत्रबाट शुभजितको शव पुलिसले फेला पारेको थियो। त्यो खबर सार्वजनिक हुन साथ क्षेत्रमा व्यापक तनाउ फैलियो। दोषीलाई फाँसीको सजायको माग गर्दै स्थानीय वासिन्दा तथा शोकाकुल परिवारले सड़क अवरोध गरी विरोध प्रदर्शन गरे। स्थितिको गम्भीरता बुझेर आरोपीलाई पक्राउ गर्न पुलिसले जालो फैलाएको थियो।
पुलिसको प्रारम्भिक अनुमानअनुसार पुरानो कुनै शत्रुता वा व्यक्तिगत आक्रोशका कारण यो हत्या भएको हुन सक्छ। मङ्गलवार गोप्य सूचनाको आधारमा कावाखाली क्षेत्रमा अभियान चलाएर राज पासवानलाई पक्राउ गरिएको हो। आज सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गर्दै तिनलाई पुलिस हिरासतमा राख्ने अनुमति मागेर हत्याको वास्तविक कारण र यसमा अरू कसैको संलग्नता रहेको छ वा छैन भन्ने विषयमा थप जाँच गरिनेछ। यस घटनाको कारण मतिगढ़ा तथा वरपरका क्षेत्रमा शोकको लहर रहेको छ।
मतिगढ़ा नाबालक हत्या प्रकरणको मुख्य आरोपी राज पासवान पक्राउ
