घाँटीमा बेल्ट बेह्रेर दशौँ कक्षाका विद्यार्थीको हत्या!

दुई दिनसम्म कुनै अत्तोपत्तो थिएन। अन्ततः दार्जीलिङ जिल्लाको सुकना क्षेत्रको एउटा चियाबारीबाट दशौँ कक्षामा अध्ययनरत एक विद्यार्थीको क्षत विक्षत शव पुलिसले फेला पारेको छ। 16 वर्षीय उक्त किशोरको घाँटी दबाएर हत्या गरिएको आरोप छ। तिनका एकजना साथीलाई सोधपुछ गर्दा जाँचकर्ताहरूले चाञ्चल्यपूर्ण जानकारी प्राप्त गरेका छन्। अहिले मुख्य आरोपीको खोजीमा पुलिस लागेको छ। हत्या गरिएका किशोरको घर मतिगढ़ाको शिमुलतला क्षेत्रमा छ। तिनी दशौँ कक्षाका विद्यार्थी थिए। पुलिस सूत्रअनुसार गत शनिवारदेखि तिनी सम्पर्कविहीन थिए। मतिगढ़ा थानामा हराएको उजुरी दर्ता गरिएको थियो। त्यसपछि पनि छोरा फेला नपरेपछि लापरवाहीको आरोप लगाउँदै परिवार सदस्यहरूले थानामा प्रदर्शन गरेका थिए। यद्यपि पुलिसको तर्फबाट जाँच जारी नै थियो। मोबाइल कल रेकर्डको आधारमा विद्यार्थीका एकजना साथीसित सोधपुछ गरिएपछि शवको पत्तो लागेको हो।
पुलिस सूत्रअनुसार गत शनिवार 24 वर्षीय राज पासवानले उक्त नाबालकलाई फोन गरेर सुकनाको चियाबारीमा बोलाएका थिए। उमेर फरक भए पनि तिनीहरूबीच मित्रता थियो। त्यो दिन चियाबारीमा तिनीहरूबीच झगड़ा भएको थियो। हातापाईका क्रममा राजले बेल्ट घाँटीमा बेरेर श्वासरुद्ध गरी तिनको हत्या गरेका थिए। त्यति बेला त्यहाँ विद्यार्थीका अर्का एकजना साथी पनि उपस्थित थिए। तिनलाई सोधपुछ गरेपछि सोमवार मध्य राति पुलिस सुकनाको चियाबारी पुग्यो र त्यहाँबाट विद्यार्थीको शव फेला पारियो।
प्रारम्भिक जाँचपछि त्रिकोणात्मक प्रेम सम्बन्धका कारण यो हत्या भएको पुलिसको अनुमान छ। राज र दशौँ कक्षाका उक्त विद्यार्थीबीच एक युवतीबारे विवाद भएको थियो जसबाट हत्या भएको देखिन्छ। आरोपीविरुद्ध अपहरणसहित भारतीय न्याय संहिता (बीएनएस) को धारा 302 र 201 अन्तर्गत मुद्दा दर्ता गरिएको छ। मृतकको शव पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। मुख्य आरोपीको खोजी भइरहेको छ भने दोस्रो व्यक्तिलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस कमिश्नरेटका डीसीपी राकेश सिंहले भने, हामीलाई लाग्छ विवादको पछाड़ि कुनै प्रेमिका सम्बन्धी विषय रहेको छ। एकजना पक्राउ परेका छन्। तर पक्राउ परेका व्यक्ति नाबालक भएकाले तिनलाई जुभेनाइल न्यायालयमा प्रस्तुत गरेपछि दार्जीलिङको कुनै सुधार गृहमा पठाइनेछ। त्यहाँ थप सोधपुछ गरिनेछ।

By Paromita