144 वर्षको कीर्तिमान तोड्दै टोय ट्रेन

दार्जीलिङ हिमालयन रेल(डीएचआर) ले अहिलेसम्मकै सबैभन्दा ठूलो आम्दानीको कीर्तिमान स्थापित गरेको छ। यसले विगत 144 वर्षको रेकर्डसमेत पार गरेको छ। यस उपलब्धिले पर्यटन क्षेत्र निकै उत्साहित भएको छ। यस सफलताका लागि पर्यटन व्यवसायी, होटल व्यवसायीदेखि पहाड़वासीसम्म सबैलाई उत्तर–पूर्व सीमान्त रेलअन्तर्गत दार्जीलिङ हिमालयन रेल प्राधिकरणले धन्यवाद दिएको छ। यस विषयमा दार्जीलिङ हिमालयन रेलका निर्देशक ऋषभ चौधरीले भने, 2024 को तुलनामा 2025 मा डीएचआरले सबै प्रकारका ऐतिहासिक रेकर्ड तोड्दै आम्दानी गरेको छ। साथै स्वदेशी तथा विदेशी पर्यटकको आगमनमा पनि नयाँ कीर्तिमान बनेको छ।
डीएचआर सूत्रअनुसार कोरोना महामारीअघि पर्यटकलाई सेवा दिन रेल प्राधिकरणले अनुदान दिँदै आएको थियो। तर त्यसपछि हेरिटेजको मान्यता प्राप्त गरिसकेपछि यस टोय ट्रेनले आफ्नै खुट्टामा उभिनुपर्ने जानकारी रेल प्राधिकरणले दिएको थियो। यो चुनौती रेल बोर्डका सदस्य तथा हालका दार्जीलिङ हिमालयन रेलका निर्देशक ऋषभ चौधरीले स्वीकार गरेका थिए। तिनले डीएचआरका नयाँ–नयाँ सेवाहरू आरम्भ गर्न साथै ऐतिहासिक पुराना स्टीम इञ्जिन र डिब्बाहरूलाई पुनर्जीवित गर्ने पहल गरे। यसले नै ठूलो सफलता दिलायो।
ऋषभ चौधरीले भने, 2024 को तुलनामा यो वर्ष डीएचआरले 16 प्रतिशत अधिक आम्दानी गरेको छ जुन दार्जीलिङ हिमालयन रेलको इतिहासकै कीर्तिमान हो। 2025 मा डीएचआरको मोठ आम्दानी 24.6 करोड़ रुपियाँ पुगेको छ। गत वर्ष आम्दानी 21.2 करोड़ रुपियाँ थियो। पर्यटकको सङ्ख्या पनि बढ़ेको छ। 2024 मा 1.74 लाख पर्यटकहरूले टोय ट्रेनको सेवा लिएका थिए भने 2025 मा यो सङ्ख्या 2.1 लाख नाघेको छ। यसले डीएचआरका सबै कर्मचारी खुशी छन्।
यस सफलताको मुख्य कारणहरूमा नयाँ नयाँ सेवाहरू, इतिहासका पानाबाट बाहिर ल्याइएका अज्ञात तथ्यहरू, प्राचीन हेरिटेज इञ्जिन र डिब्बाहरूको संरक्षण तथा पर्यटकलाई आकर्षित गर्न ब्रिटिशकालीन सङ्ग्रहालयलाई नयाँ रूपमा सजाएर प्रस्तुत गर्नु आदि रहेको डीएचआर र पर्यटन क्षेत्रको धारणा छ। आकर्षण अझ बढ़ाउन अब टोय ट्रेनभित्रै विवाहजस्ता कार्यक्रम आयोजना गर्ने दिशामा पनि प्राधिकरणले सोच बनाइरहेको छ। यसले स्थानीय तथा टाढ़ा–टाढ़ाबाट आउने पर्यटकहरूको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

By Paromita