सिलगढ़ीमा माध्यमिक परीक्षा शान्तिपूर्ण

पश्चिम बङ्गालभरि सोमवारदेखि माध्यमिक परीक्षा आरम्भ भएको छ। सिलगढ़ीका विभिन्न परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण रूपमा प्रक्रिया आरम्भ भयो। परीक्षार्थीहरू बिहानैदेखि तोकिएका निर्देशिका पालना गर्दै परीक्षामा सहभागी भए।
कानून–व्यवस्था कायम राख्न सबै परीक्षा केन्द्रहरूमा पुलिस तैनाथ गरिएको थियो। परीक्षार्थीहरूलाई केन्द्रसम्म पुग्न कुनै कठिनाइ नहोस् भनी बिहान 8 बजीदेखि शहरका विभिन्न ट्राफिक बिन्दुहरूमा ट्राफिक पुलिस तैनाथ गरिएको थियो। केही घटनामा गलत परीक्षा केन्द्रमा पुगेका परीक्षार्थीहरूलाई ट्राफिक पुलिसले सहयोग गर्दै सही केन्द्रसम्म मार्गदर्शनसमेत गरेको थियो।
परीक्षाको पहिलो दिन केन्द्रबाहिर धेरै अभिभावकहरू प्रतीक्षारत देखिए। परीक्षा स्थलहरूबाहिर बोर्डद्वारा जारी निर्देशन सूचना टाँसिएको थियो। दार्जीलिङ जिल्ला माध्यमिक बोर्डका संयोजक सुप्रकाश रोयले परीक्षा सुचारु रूपमा सम्पन्न गराउन प्रशासनले पूर्ण सहयोग गरिरहेको बताए। यो वर्ष दार्जीलिङ जिल्लामा माध्यमिक परीक्षामा मोठ 17499 जना परीक्षार्थीहरू सहभागी हुँदैछन्। तीमध्ये 7510 जना केटा हुन् भने केटी परीक्षार्थीको सङ्ख्या लगभग 10,000 पुगेको छ। पुलिस अधिकारीहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गर्न विभिन्न परीक्षा केन्द्रहरूको भ्रमणसमेत गरे। यस पहलअन्तर्गत विद्यार्थीहरूको मनोबल बढ़ाउन चकलेट र कलम वितरण गरियो।

By Paromita