डुवर्समा बाघ गणना गरिने

नेउरा भ्याली नेशनल पार्कसितै समतल भूभागका गोरुमारा नेशनल पार्क र चम्प्रामारी अभयारण्यमा संयुक्त रूपमा बाघ गणना गरिने भएको छ। यो गणना नेशनल टाइगर प्रोजेक्ट कञ्जर्भेशन, वाइल्डलाइफ इन्स्टिच्युट अफ इण्डिया र वन विभागले संयुक्त रूपमा सञ्चालन गर्नेछन्। प्राप्त जानकारीअनुसार चालु महीनाको 18 वा 20 तारिखदेखि गणना आरम्भ हुने सम्भावना छ। उता फरवरी महीनामा चिसो केही कम्ती भएपछि नेउरा भ्यालीमा बाघ गणना आरम्भ गरिनेछ। सूत्रअनुसार ट्र्याप क्यामेरामा कैद भएका बाघका तस्बिर, पोलीगन विधि अपनाएर रूखमा बाघले नङग्राले लगाएको दाग, मलका नमुना तथा खुट्टाका छापका आधारमा गणना गरिनेछ। यसअघि नै गोरुमारा र चम्प्रामारीमा वनकर्मीहरूलाई तालिम दिइएको छ।
बक्सा टाइगर प्रोजेक्ट क्षेत्रमा सन् 2024 को बाघ गणना रिपोर्टमा एउटा बाघको अस्तित्व उल्लेख गरिएको थियो। तर नेउरा भ्यालीमा सन् 2017 देखि मोबाइल र ट्र्याप क्यामेरामा गत वर्षसम्म पटक–पटक बाघका तस्बिर तथा मलका नमुना भेटिए पनि सन् 2024 को बाघ गणना रिपोर्टमा नेउरामा कुनै पनि बाघको अस्तित्व उल्लेख गरिएको छैन। यस विषयमा गोरुमारा वन्यजन्तु विभागका डीएफओ द्विजप्रतिम सेनले भने, गोरुमारा वन्यजन्तु विभाग ग्लोबल टाइगर फोरमको सदस्य बनेको छ। जहाँ बाघ छन् ती वन्यजन्तु विभागहरूलाई मात्र यो टाइगर फोरमको सदस्यता दिइन्छ। नेउरामा बाघका तस्बिर, रूखमा नङग्राको दाग र बाघको मलका नमुना भेटिएको थियो। ती सबै जानकारी वाइल्डलाइफ इन्स्टिच्युट अफ इण्डियालाई पनि पठाइएको थियो।
यसैबीच बाघ गणनाका लागि नेउरा भ्यालीको पहाड़ी जङ्गलमा 80 वटा ट्र्याप क्यामेरा जड़ान गरिएको छ। जनवरीको अन्त्यतिर जलदापाड़ाबाट थप 45 वटा क्यामेरा ल्याएर नेउरा भ्यालीमा जड़ान गरिनेछ। समतल भूभागका गोरुमारा र चम्प्रामारीमा 60 वटा क्यामेरा जड़ान गर्ने काम जारी छ। अर्कातिर, नेउरा भ्यालीको जङ्गलमा 200 जना सर्वेक्षक तथा गोरुमारा र चम्प्रामारीमा 250 जना सर्वेक्षक बाघ गणनामा संलग्न हुने जानकारी प्राप्त भएको छ। वन विभाग सूत्रअनुसार, जुन दिनदेखि गणना आरम्भ हुन्छ। त्यस दिनदेखि 45 दिनसम्म ट्र्याप क्यामेराहरू सञ्चालनमा राखिनेछ। क्यामेरामा कैद भएका बाघका तस्बिर वाइल्डलाइफ इन्स्टिच्युट अफ इण्डियाको अनुसन्धान प्रयोगशालामा विश्लेषण गरेर बाघको सङ्ख्या निर्धारण गरिनेछ। साथै बाघको मल, नङ्रारभको दाग र खुट्टाको छाप पनि सूक्ष्म रूपमा जाँच गरिनेछ।

By Piyali Poddar