आक्रमणमा बाबा–छोरा घाइते

सड़कमा एक युवक–युवतीलाई आपत्तिजनक अवस्थामा देखेर विरोध गर्दा सिलगढ़ीको बतासी क्षेत्रका एक व्यवसायी र तिनका छोरा कुटपिटमा परेर घाइते भएका छन्। घटनासित सम्बन्धित बुढ़ागञ्जको चरनाजोतका पाँचजनालाई पुलिसले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू मोहम्मद हासिमुद्दीन शेख, हासीबुल शेख, हसिना बिबी, रिना खातुन र मेनका खातुन हुन्।
पाँचजनालाई पक्राउ गरिएसितै पुलिसले एउटा गाड़ी पनि जफत गरेको छ। पक्राउ परेकाहरूलाई बुधवार सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरिएको थियो। सिलगढ़ी महकुमा पुलिस अधिकारी सौमजित रायले भने, हुलदङ्गा गरेको आरोपमा पाँचजनालाई पक्राउ गरिएको हो। बतासी रेल स्टेशननजिक गोपाल सरकारको हार्डवेयर पसल छ। मङ्गलवार साँझ पनि तिनी हिँड्न निस्किएका थिए। आरोपअनुसार त्यसै समयमा स्टेशन परिसरमा एक युवक–युवतीको अश्लील व्यवहारको तिनले विरोध गरे। त्यसपछि तिनलाई कुटपिट गरिएको आरोप छ। गोपालले सरकारले भने, हिँड़डुल गर्ने क्रममा दुईजनालाई आपत्तिजनक अवस्थामा देखेँ। दुवै नशामा थिए जस्तो लाग्यो। एकजनाले वान्ता गर्न थालेपछि म तिनीहरूतर्फ गएर घर कहाँ हो भनेर सोधेँ। यतिकैमा रिसाएर एक युवकले मेरो मुखमा मुक्का हान्यो। छोरालाई फोन गरेर आउन भनेपछि दुवैजना त्यहाँबाट भागे। तिनले थपे, मुखमा चोट लागेपछि छोराले मलाई उद्धार गरेर औषधी पसलमा उपचारका लागि लगे। केही बेरपछि ती युवकहरू अरूलाई पनि साथमा लिएर पसलमा आएर आक्रमण गरे।
गोपालका छोरा दुलालले भने, एउटा गाड़ीबाट केही युवाहरू ओर्लिएर पसलभित्र पसे र तोड़फोड़ गरे। कुटपिट गर्दा मेरो शिरमा चोट लाग्यो। झगड़ा रोक्न आएका छेउछाउका केही पसलेहरूलाई पनि कुटपिट गरियो। पुलिसअनुसार, अन्य पसलेहरू घटनास्थलमा जम्मा हुन थालेपछि आरोपीहरू गाड़ीमा चढ़ेर भाग्ने प्रयास गरे। बतासी मोड़नजिक ट्राफिक पुलिसको बेरिकेड तोड्ने क्रममा स्थानीयहरूले गाड़ी रोके। खबर पाएपछि खोरीबारी थाना पुलिस घटनास्थल पुग्यो। प्राप्त जानकारीअनुसार आक्रमणकारीहरूको समूहमा रहेका हासीबुल साँझ झगड़ा मच्चाएर क्षेत्रबाट फर्किएका थिए। पछि आमा, दिदी तथा केही मानिसहरूलाई साथमा लिएर आएर पुनः आक्रमण गरेका आरोप छ।

By Piyali Poddar