सिलगढ़ीमा झुटो बहानामा मानिसहरूलाई फकाई अपहरण गरी लाखौँ रुपियाँ फिरौती माग्ने गिरोहको घटनामा पानी ट्याङ्की आउटपोस्ट पुलिसले सफलता हात पारेको छ। केही घण्टामै अपहृत व्यक्तिलाई सकुशल उद्धार गरिएको छ भने दुईजना आरोपीहरूलाई पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार नक्सलबारीका वासिन्दा उमेश कुमार साहनीको अपहरण गरिएको बताउँदै तिनकी पत्नी नुपुर साहाले उजुरी दर्ता गरेकी थिइन्। तिनको रिहाइका लागि अपहरणकारीहरूले 5 लाख रुपियाँ फिरौती मागेका थिए।
तत्काल कारवाही गर्दै पुलिसले फिरौती माग्न प्रयोग गरिएको फोन कल ट्रेस गरी अपहृत व्यक्तिको ठेगाना पत्तो लगायो। त्यसपछि बुधवार अबेर राति सिलगढ़ीस्थित पायल सिनेमा हलनजिक एकान्त र खाली भवनबाट उमेश कुमार साहनीलाई सकुशल उद्धार गरिएको हो। उक्त कारवाहीका क्रममा डाबग्राम वार्ड नम्बर 23 का सुदीप मण्डल अनि सुकान्त नगरका वासिन्दा मृणाल साहा नामक दुई आरोपीहरूलाई पक्राउ गरिएको पुलिसले जनाएको छ। दुवैलाई सिलगढ़ी न्यायालयमा प्रस्तुत गरी पाँच दिनको पुलिस रिमाण्डमा पठाइएको छ।
पुलिस सूत्रअनुसार उमेश कुमार साहनी नक्सलबारीमा वाहन सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्। सुदीप मण्डलले सवारी साधन खरीद गर्ने बहानामा तिनीसित मित्रता गाँसे। त्यसपछि आरोपीहरूले उमेशलाई सिलगढ़ी बोलाई अपहरण गरी फिरौती मागे। पुलिसले तिनीहरूको योजना विफल पारिदियो अनि घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्दै पुलिसले रौचिरा जाँच जारी राखेको छ।
अपहृत व्यक्तिको सकुशल उद्धार
