72 घण्टाभित्र आत्मसमर्पण गर्ने प्रशान्त बर्मनलाई उच्च न्यायालयको निर्देश

सल्टलेकका स्वर्ण व्यवसायी स्वपन कामिल्याको हत्या प्रकरणमा आरोपी राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई 72 घण्टाभित्र आत्मसमर्पण गर्न कलकत्ता उच्च न्यायालयले निर्देशन दिएको छ। न्यायमूर्ति तीर्थङ्कर घोषले बताएअनुसार हत्या जस्तो गम्भीर घटनाको आरोपीलाई जमानत वा अग्रिम जमानत दिने क्रममा विचार गर्नुपर्ने विषयहरू तल्लो न्यायालयले विचार गरेको छैन। गम्भीर आरोप तथा महत्त्वपूर्ण तथ्य–प्रमाणलाई अदेखा गर्दै जमानत दिइएको न्यायमूर्तिले बताएका छन्। त्यसैले उक्त आदेश रद्द गरिएको हो।
स्वपन कामिल्याको अपहरण तथा हत्या सम्बन्धी मुद्दामा उत्तर बङ्गालको राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई बारासात न्यायालयले अग्रिम जमानत दिएको थियो। प्रशान्त बर्मनको अग्रिम जमानतको विरोध गर्दै पुलिस उच्च न्यायालय पुगेको थियो। पुलिसले नक्कली कागजात प्रस्तुत गरी तिनले तल्लो न्यायालयबाट अग्रिम जमानत पाएको आरोप पनि लगाएको थियो।
गत 29 अक्टोबर न्यू टाउनको एक स्थानबाट स्वर्ण व्यवसायी स्वपन कामिल्याको शव फेला पारिएको थियो। तिनको परिवारको आरोपअनुसार, स्वपनलाई अपहरण गरी हत्या गरिएको हो। उक्त घटनामा बीडीओ प्रशान्त बर्मनको नाम जोड़िएको छ। अहिलेसम्म यस घटनामा पुलिसले पाँचजनालाई पक्राउ गरिसकेको छ। न्यायालयमा सरकारी वकिलले यसअघि नै यस घटनामा प्रमुख आरोपीमध्ये एक बीडीओ प्रशान्त रहेको जानकारी गराएका थिए।

By Piyali Poddar