टोटो सफारीले चर्चित लालपुल र छोयाफेली वनबस्ती

लाटागुड़ी बजारदेखि नेउरा चियाबारी हुँदै पुगिन्छ लाल पुल अनि धूपझोड़ा बजारदेखि बड़ादिघी चियाबारी हुँदै लगभग 7 किलोमिटर टाढ़ो छोयाफेली वनबस्ती पुगिन्छ। केही वर्ष अघिसम्म यी दुई ठाउँबारे खासै कसैलाई जानकारी थिएन। यी स्थानहरू लोकप्रिय पर्यटन गन्तव्य बन्न सक्छन् भन्ने पर्यटन क्षेत्रका कसैले कल्पनासम्म गरेका थिएनन्। तर अहिले यी दुई ठाउँमा पुगेपछि मानिसहरूको भीड़ देख्न सकिन्छ। केही वर्षमै पूरै दृश्य परिवर्तन भएको छ। यस परिवर्तनको पछाड़ि स्थानीय टोटो चालकहरूको ठूलो भूमिका छ। यसबाट तिनीहरूको आम्दानीको बाटो सहज बनेको छ भने लाटागुड़ी घुम्न आएका पर्यटकहरू पनि केवल परिचित स्थानमै घुमेर फर्किरहेका छैनन्। कम्तीमा एकपल्ट भए पनि यी अफबिट स्थलहरू एक्सप्लोर गरेर पर्यटकहरू फर्किरहेका छन्। जङ्गल, नदी र चियाबारी- यी तीन तत्त्वलाई केन्द्रमा राखेर डुवर्सको पर्यटन विकसित भएको छ। वर्षभरि नै कम्ती–बेसी पर्यटकहरूको आवतजावत रहन्छ। जाड़ो याममा एकाएक पर्यटकको सङ्ख्या बढ्छ। त्यस्तै पूरै वर्षायामभरि जङ्गल सफारी बन्द रहने भएकाले यहाँको पर्यटन व्यवसाय ठप्प जस्तै हुन्छ। पर्यटन व्यवसायसित जोड़िएका सबै मानिसहरू, टोटो चालकहरू समेत वैकल्पिक आम्दानीतर्फ झुक्न बाध्य हुन्छन्। तर पछिल्ला केही वर्षमै लगभग 50 जना टोटो चालकहरूले यस्तो अवस्थालाई बदलिदिएका छन्।
केही वर्षअघि एक वर्षायाममा केही पर्यटकहरू लाटागुड़ी आएका थिए। जङ्गल सफारी बन्द भएकाले कहाँ घुम्न जाने भन्ने विषयमा तिनीहरू अन्योलमा परेका थिए। त्यो बेला कुनै एक टोटो चालकको दिमागमा ती पर्यटकहरूलाई यी दुई ठाउँ घुमाइदिए कस्तो होला भन्ने विचार आयो। सूर्यास्त वा मयूर हेर्न पर्यटकहरूको रोजाइको सवारी साधन बन्दै गइरहेको टोटोबारे प्रस्ताव पर्यटकहरूलाई दिँदा तिनीहरू सहमत भए। त्यसपछि घुमेर फर्किएपछि पर्यटकहरू यति मोहित भए कि पछि सबैको कुराकुरैमा यी दुई स्थलको चर्चा फैलिन थाल्यो। बिस्तारै वर्षायाम मात्र होइन अन्य समयमा पनि पर्यटकहरू यी दुई ठाउँ आउन थालेपछि चालकहरू पनि खुशी हुँदै टोटो सफारी आरम्भ गरे। यसरी अहिले लालपुल र छोयाफेली वनबस्ती लोकप्रिय पर्यटन गन्तव्यमा परिणत भएका छन्। यी दुई स्थानबारे स्थानीय टोटो चालक निखिल देले भने, लाटागुड़ी जङ्गलनजिक बग्ने नेउरा नदीको किनारमा चियाबारीभित्र रहेको सड़क यात्रा यति सुन्दर छ कि शुरुमै यसले पर्यटकहरूको मन जित्छ। त्यसपछि दिउँसो लालपुल पुगेर नदीको किनारमा बसेर सूर्यास्त हेर्ने अनुभूतिबारे शब्दमा भन्नै सकिँदैन। यता छोयाफेली वनबस्तीमा प्रायः मयूर देख्न पाइन्छ। निखिलले भने, भाग्यले साथ दिए मयूरको नाच पनि हेर्न पाइन्छ। कहिलेकाहीँ नदीको किनारमा हात्ती वा बाइसनको झुण्ड पनि देखा पर्छ। त्यो त पर्यटकका लागि बोनस नै हो। एक समय भाड़ाका लागि दिनभरि पर्खेर बस्नुपर्ने टोटो चालकहरूलाई अहिले दिउँसो–बेलुकी उल्टा पर्यटकहरूले कुर्नुपर्ने अवस्था आएको छ। टोटो चालक जीवन दासले भने, बेलुकी लगभग डेढ़–दुई घण्टा हामी पर्यटकहरूलाई यी दुई क्षेत्र घुमाएर देखाउँछौँ। त्यसको शुल्क चार–पाँच सय रुपियाँ लिन्छौँ।
र्यटकको भीड़ बढ़ेसितै धेरै टोटो चालकहरू अहिले दिनभरि अन्यत्र भाड़ा चलाएर बेलुकी अतिरिक्त आम्दानीको आशामा यस क्षेत्रमा आइपुग्छन्। टोटो चालकहरूसितै पर्यटन व्यवसायीहरू पनि यसबाट लाभान्वित भएका छन्। स्थानीय व्यवसायी दिव्येन्दु देवले भने, यी क्षेत्रहरू साँच्चै आकर्षक बनेका छन्। पहिले केवल जङ्गल सफारी गरेर अन्यत्र जाने पर्यटकहरू अहिले यी स्थलहरू घुम्नकै लागि लाटागुड़ीमा एक दिन थप बस्न थालेका छन्। यसले हामीलाई पनि फाइदा पुगेको छ।

By Piyali Poddar