म्यान्मारमा प्रदर्शन चर्कियो

म्यान्मारमा सैनिक ‘कु’ विरुद्धको आन्दोलन थप चर्किएको छ । प्रहरीको बल प्रयोगबाट गत आइतबार र बुधबार क्रमश: १८ र ३८ जना प्रदर्शनकारी मारिएपछि मुलुकका विभिन्न सहर र ग्रामीण भेगमा हजारौं आन्दोलनकारी सडकमा उत्रिएका हुन् ।

आन्दोलनकारीले सैनिक शासनविरुद्ध नाराबाजी गर्दै ढुंगे युग अब समाप्त भइसकेको उद्घोष गरेका छन् । ‘हामी डराएका छैनौं, किनकि तिमीहरूले दमन गरिरहेका छौ,’ आन्दोलनकारीको भनाइ छ ।

आन्दोलनमा सुरक्षाकर्मीले आफ्नो दमनलाई समेत निरन्तरता दिएको छ । म्यान्मारको मुख्य सहर यांगुनमा शुक्रबार सयौंको संख्यामा चिकित्सकहरू सडकमा उत्रिए । उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु भएको रोयटर्सले लेखेको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न रबरका गोली, स्टन ग्रिनेड र व्यापक अश्रुग्यास प्रयोग गरेको समाचारहरूमा जनाइएको छ । म्यान्डले, पाथेन, मियांगेनलगायत सहरमा पनि लोकतन्त्रवादी नेत्री आङ सान सुचीको रिहाइको माग गर्दै प्रदर्शन भएका छन् । सामाजिक सञ्जालमा राखिएका तस्बिर र भिडियोहरूमा सुरक्षाकर्मीले व्यापक बल प्रयोग गरेको र नियन्त्रणमा लिइएका प्रदर्शनकारीलाई बन्दुकको नाललगायतले निर्घात कुटपिट गरिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *