खोरीबारी जाली प्रमाणपत्र काण्डमा पुनः पक्राउ

खोरीबारी ग्रामीण अस्पतालको जाली जन्म र मृत्यु प्रमाणपत्र प्रकरणमा पुलिसले थप एक व्यक्तिलाई पक्राउ गरेको छ। यससितै पक्राउ पर्ने व्यक्तिहरूको सङ्ख्या 6 पुगेको छ। मुख्य आरोपी पार्थ साहापछि यसपल्ट खोरीबारी र फाँसीदेवा थानाअन्तर्गत बिधाननगर जाँच केन्द्रको संयुक्त पुलिस टोलीले फाँसीदेवा ब्लकको बिधाननगर पाइकपाड़ामा छापा मारेको हो।

अभियानका क्रममा अनलाइन सेवाको आवरणमा सञ्चालन भइरहेको एक अवैध कारोबारको पत्तो लागेको छ। त्यहाँबाट पक्राउ परेका सुव्रत घोष उर्फ लिटन घोषको पसलबाट तीनवटा कम्प्युटर जफत गरिएको छ जसमा थुप्रै जन्म र मृत्यु प्रमाणपत्रका अभिलेखहरू भेटिएका छन्। त्यससितै आधार कार्ड बनाउन प्रयोग हुने बायोमेट्रिक मेसिन र रेटिना स्क्यानरसमेत पुलिसले जफत गरेको छ।
अहिले पक्राउ पर्ने व्यक्तिलाई सिलगढ़ी न्यायालयमा प्रस्तुत गरिएको छ। पुलिस सूत्रअनुसार खोरीबारी ग्रामीण अस्पतालको प्रमाणपत्र काण्डमा सुव्रत घोष र मुख्य आरोपी पार्थ साहाबीच कुनै सम्पर्क थियो कि थिएन भनेर पनि जाँच गरिँदैछ। यस गिरोहमा अझ केही व्यक्ति संलग्न हुन सक्ने पुलिसको अनुमान छ।

By Piyali Poddar