उत्तर बङ्गालको भीषण बाढ़ी र पैह्रोले उत्पन्न गरेको विपद स्थितिको स्थलगत निरीक्षण गर्न मुख्यमन्त्री ममता ब्यानर्जी सोमवार नै उत्तर बङ्गाल आइपुगेकी छन्। मङ्गलवार तिनी मिरिकको दूधे पुगिन्। त्यहाँ तिनले पैह्रो प्रभावित क्षेत्र घुमेर निरीक्षण गरिन् र पीड़ित मानिसहरूसित प्रत्यक्ष कुराकानी गरिन्। पहिले नै मृत व्यक्तिहरूको परिवारका लागि आर्थिक सहयोगको घोषणा गरेकी मुख्यमन्त्रीले आज दूधेमा ती 12 मृत परिवारका सदस्यहरूलाई आफैले 5 लाख रुपियाँको चेक प्रदान गरिन्। साथै तिनले मृत व्यक्तिको परिवारका एक सदस्यलाई स्पेसल होम गार्डको रोजगार दिइने बताइन्। उक्त नियुक्तिमा शैक्षिक योग्यता र शारीरिक उचाइँमा छुट दिइने पनि तिनले आश्वासन दिइन्।
मुख्यमन्त्रीले प्रभावित क्षेत्रमा अहिलेका लागि कम्युनिटी किचन निरन्तर सञ्चालनमा राख्न निर्देशन दिइन्। साथै तिनले कम्तीमा एक महीनासम्म पीड़ितहरूलाई सरकारी सहयोग उपलब्ध गराइने घोषणा गरिन्। विपदको कारण आधार, प्यान कार्ड, रेशन कार्ड वा अन्य सरकारी कागजात हराएका वा नष्ट भएका व्यक्तिहरूका लागि विशेष शिविरमार्फत नयाँ कागजात बनाइदिने निर्देशन पनि ममता ब्यानर्जीले दिएकी छन्। विद्यार्थीहरूको पुस्तक, कपी वा विद्यालय पोशाक नष्ट भएमा ती पनि पुनः उपलब्ध गराइने तिनले बताइन्।
किसानहरूको खेतबारीमा भएको क्षतिको सन्दर्भमा मुख्यमन्त्रीले घोषणा गरिन्, जस जसको जति जमीन नष्ट भएको छ, त्यहाँ कृषि बीमाअन्तर्गत क्षतिपूर्ति दिइनेछ। जसको घरबार बगेको छ तिनीहरूको पुनर्वासको जिम्मावारी राज्य सरकारले लिनेछ।
दूधेको फलामे पुल भत्किएपछि त्यहाँको यातायात पुनर्स्थापना गर्ने काम तीव्र गतिमा जारी भइसकेको बताउँदै मुख्यमन्त्रीले मजदुरहरूलाई सावधानीपूर्वक काम गर्न सुझाउ दिइन्। तिनले भनिन्, नदी अझै तीव्र बगिरहेको छ। आवश्यक परे दुई दिन पर्खिएर काम गर्नुहोस्। सबैले लाइफ ज्याकेट लगाएर काम गर्नुहोस्। उत्तर बङ्गालका वासिन्दाहरूप्रति राज्य सरकार सदैव साथमा रहने सन्देश दिँदै मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा दूधेको प्रशासनिक निरीक्षण कार्यक्रम समापन गरियो।
मुख्यमन्त्रीद्वारा पीड़ित परिवारलाई 5 लाख रुपियाँको चेक प्रदान
