कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइयो

दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मलाकरलाई हटाइएको छ। बुधवार प्रेस विज्ञप्तिमार्फत कङ्ग्रेसले शङ्कर मालाकरलाई सबै पदबाट हटाइएको जानकारी दिएको हो। मालाकरको स्थानमा अस्थायी रूपमा सुबीन भौमिक, अलकेश चक्रवर्तीलगायत अन्य चार नेताले जिम्मावारी सम्हाल्नेछन्।
आज कङ्ग्रेसले दार्जीलिङ जिल्लाका प्रभावशाली कङ्ग्रेस नेता शङ्कर मलाकरलाई हटाउने विषयमा जारी गरिएको प्रेस विज्ञप्तिमा स्पष्ट रूपमा लेखिएको छ दार्जीलिङ जिल्ला कङ्ग्रेस समितिका अध्यक्षसहित राष्ट्रिय कङ्ग्रेसका सबै पदबाट शङ्कर मालाकरलाई हटाइएको छ। साथै दार्जीलिङ जिल्लाका दैनिक कार्यहरू हेर्नका लागि एउटा समिति गठन गरिएको छ। भारतीय राष्ट्रिय कङ्ग्रेस समितिबाट नयाँ कुनै निर्देशन नआएसम्म नयाँ समितिले नै दार्जीलिङ जिल्लामा कङ्ग्रेसका सबै कामकाज सञ्चालन गर्नेछ।
वर्तमान अवस्थामा जिल्ला अध्यक्षलाई हटाइएको हुँदा अबदेखि सुबीन भौमिक, अमिताभ सरकार, जीवन मजुमदार र अलकेश चक्रवर्तीलाई कङ्ग्रेसको कामकाज सञ्चालन गर्न टोलीको प्रमुखको जिम्मावारी दिइएको छ। तिनीहरूलाई यो जिम्मावारी प्रदेश कङ्ग्रेस अध्यक्ष शुभङ्कर सरकारले प्रदान गरेका हुन्। यद्यपि शङ्कर मालाकरलाई हटाउने निर्णयको कुनै कङ्ग्रेस स्पष्टीकरण शिविरले दिएको छैन।

By Piyali Poddar