दीपङ्कर दास नामक पुलिस कर्मीको घरमा चारजनाको सीबीआई टोली आइपुग्यो। दीपङ्कर दास जिल्ला पुलिस अधीक्षकको घरमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्। तर सीबीआई कुन मुद्दाको सिलसिलामा आएको हो भन्ने अझै स्पष्ट भएको छैन। यो घटना जलपाइगढ़ीको रेस कोर्स पाड़ा क्षेत्रमा भएको हो। दीपङ्कर दासका पिता कनाई दास अवकाशप्राप्त पुलिस कर्मी हुन्। दीपङ्करका दाजु दिवस दास एक निजी संस्थामा कार्यरत छन्।
लगभग तीन घण्टा सोधपुछ गरेपछि सीबीआईको चार सदस्यीय टोली केही कागजातहरू लिएर जलपाइगढ़ी रेसकोर्स पाड़ास्थित पुलिस कर्मी दीपङ्कर दासको घरबाट बाहिरियो। यद्यपि दीपङ्करको परिवारले सीबीआई किन आएको हो भनेर आफूहरूलाई जानकारी नभएको बताएको छ। सीबीआई सूत्रअनुसार दीपङ्कर दासको कोचबिहारमा पोस्टिङ हुँदा सन् 2022 मा एउटा लागू पदार्थ सम्बन्धी मुद्दाको केही कागजातहरू उच्च न्यायालयमा बुझाउनुपर्ने थियो। ती कागजातहरू न्यायालयमा बुझाइएको थिएन।
त्यसै मुद्दामा सीबीआईले जाँच गरिरहेको बताइएको छ। आज दीपङ्करको घरबाट सीबीआई टोलीले केही कागजात फेला पारेको छ। यस घटनापछि दीपङ्कर पहिले शिक्षा राज्यमन्त्री परेश अधिकारीका सुरक्षा गार्ड रहेका प्रकाशमा आएको छ। आज बिहान कोलकाताबाट सीबीआईको चार सदस्यीय टोली केन्द्रीय सुरक्षा बलसित दुईवटा गाडीमा जलपाइगढ़ी आएको थियो