दक्षिण बङ्गालमा जस्तो उत्तर बङ्गालका वासिन्दाहरूको निम्ति एउटा खुशीको खबर आएको छ। अब सिलिण्डरको झमेला रहने छैन। घर-घरमा पाइप लाइनमार्फत खाना पकाउने ग्यास पुर्या।इनेछ। जीवन स्तरलाई अझ सुधार गर्न साथै वातावरणमैत्री ग्यास सेवा सिलगढ़ीमा नौलो पहल भइरहेको छ। सरकारी संस्था ग्यास अथोरिटी अफ इण्डिया लिमिटेड (जीएआईएल) ले यस्तो पहल गरेको हो। जीएआईएलले सिलगढ़ीमा 47 किलोमिटर लामो पाइलट प्रोजेक्टको काम आरम्भ गरिसकेको छ। अहिले युद्ध स्तरमा सिलगढ़ी र सिलगढ़ी संलग्न क्षेत्रमा मुख्य पाइप लाइनको कार्य चलिरहेको छ।
यस परियोजनाद्वारा व्यापारिक र घरेलु दुवै क्षेत्रका लागि प्राकृतिक ग्यास आपूर्ति गरिनेछ। जीआईएएलका अधिकारीहरूले सिलगढ़ी नगर निगमका मेयर गौतम देव र सम्पूर्ण कमिश्नरसित बैठक गरेर यस निर्णयमा पुगेका थिए। त्यस निर्णयको प्रतिफल स्वरूप अहिले भारप्राप्त संस्था जीआईएएल धेरै व्यस्त बनेर कार्य अघि बढ़ाइरहेको छ। मेयर गौतम देवले यस परियोजनालाई नीतिगत स्वीकृति दिए। प्राप्त जानकारीअनुसार, राज्य सरकार र नगर विभागले संयुक्त रूपमा कोलकातामा जीआईएएलका लागि प्राकृतिक ग्यास ट्रान्समिशन सिस्टम कार्यान्वयन गर्ने एउटा स्ट्याण्डर्ड अपरेटर प्रणाली तयार गरेको छ। अहिले सिलगढ़ीमा पनि त्यसै प्रणाली अपनाएर कार्य भइरहेको छ।
प्राप्त जानकारीअनुसार, सिलगढ़ीको सेवक रोडदेखि दार्जीलिङ मोड़, शिवमन्दिरको कदमतलादेखि फूलबारीको क्यानल मोड़सम्म मुख्य पाइप लाइनको कार्य पूरा भइसकेको छ। अहिले सेवक मोड़बाट सेवक रोड हुँदै भक्तिनगरमा पाइप लाइनको कार्य चलिरहेको छ। यो कार्य शीघ्र छिट्टै पूरा हुने संस्थाको तर्फबाट जानकारी दिइएको छ। नगर निगमका मेयर गौतम देवले मेयर-इन-काउन्सिलसित छलफल गरेर बोर्ड मिटिङमार्फत सिलगढ़ीमा 1200 किलोमिटर लामो यस परियोजनाको कार्य सम्पन्न गरिने तय गरिएको थप जानकारी प्राप्त भएको छ। प्रारम्भिक चरणमा 47 किलोमिटरको कार्य आरम्भ भइसकेको छ। विभिन्न दृष्टिकोणले यो परियोजना समाजमा महत्त्वपूर्ण बन्दै गइरहेको छ। जस्तै, यस प्राकृतिक ग्यासले कुनै प्रकारको प्रदूषण गर्दैन र वातावरणमैत्री छ। यसले हावामा हुने प्रदूषणबाट मुक्ति दिलाउनेछ। सिलिण्डरको तुलनामा पाइप लाइनमार्फत ग्यासको खर्च धेरै कम्ती हुनेछ। यसले निम्नवर्गीय व्यक्तिहरूलाई लाभ पुर्यालउनेछ। पाइप लाइनमार्फत 24 घण्टा ग्यास आपूर्ति सुनिश्चित हुनेछ। त्यसैले चाड़पर्वको समयमा ग्यास सकिने अनिश्चितता हट्नेछ। पाइप लाइनमार्फत ग्यास आपूर्ति सिलगढ़ीका जनसाधारणका लागि एक ऐतिहासिक कदम हुनेछ। यस पहलले सिलगढ़ीवासीहरूको जीवन स्तरलाई अझ सुधार गर्नेछ र वातावरणमैत्री ग्यास सेवाको दिशामा ठूलो कदम उठ्नेछ।