सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा केही छलफल भएन ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद् बैठकमा केही जानकारी दिएनन् । यसअघि पनि मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी अध्यादेश जारी गरिएकोमा फिर्ताबारे पनि केही छलफल नभएको नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका ती मन्त्रीले बताए ।
सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भने प्रधानमन्त्री स्थायी कमिटी बैठकमा नै अध्यादेश फिर्ता लिने भनिसकेकाले मन्त्रिपरिषद्मा छलफल नभएको बताए । ‘आजको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय भएन । अध्यादेशको बारेमा हिजो फिर्ता लिन्छु भनिसक्नुभयो त सकिइसक्यो नि,’ उनले भने ।
मन्त्री श्रेष्ठ नेकपाका केन्द्रीय सदस्य पनि हुन् ।
अर्का एक मन्त्रीका अनुसार मन्त्रिपरषद्मा छलफल नगरी निर्णयमा अध्यादेश फिर्ताको विषय पर्न सक्ने बताए । जारी गर्नका लागि पनि मन्त्रीहरूलाई जानकारी नदिइएकोमा खारेज गर्नका लागि राष्ट्रपतिकहाँ सिफारिस गर्न पनि मन्त्रीहरूलाई जानकारी नदिई गर्न सकिने उनको भनाइ थियो । प्रधानमन्त्रीले मुख्यसचिवलाई मन्त्रिपरिषद्का निर्णयमा अध्यादेश खारेजीको निर्णय भएको माइन्यूट गराउने सम्भावना रहेको उनको भनाइ थियो ।