सिलगढीमा सडक दुर्घटनामा दार्जिलिङ जाँदै गरेका २ पर्यटकको मृत्यु, ५ घाइते

नादियाका दुई पर्यटक दार्जिलिङ जाने क्रममा सडक दुर्घटनामा परी मृत्यु भएको छ। घटना शनिबार बिहान भएको हो । नादियाबाट एउटा सानो चारपाङ्ग्रे सवारी साधनमा ७ जना पर्यटकको टोली दार्जिलिङ आउँदै गरेको बताइएको छ । बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले फणसीदेवा ब्लकस्थित सैदाबाद चिया बगान नजिकै पार्किङ गरेको ट्रकलाई पर्यटक गाडीले पछाडिबाट ठक्कर दिएको हो । घटनामा दुई पर्यटकको घटनास्थलमै मृत्यु भएको थियो । बाँकीलाई उद्धार गरी गम्भीर अवस्थामा उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल लगिएको थियो। प्रहरी स्रोतका अनुसार मृत्यु हुनेमा राणा चक्रवर्ती र गणेश सरकार दुवै नादिया जिल्लाका रहेका छन् । घटना बिहान करिब ५ बजे भएको दार्जिलिङ जिल्ला प्रहरीका अतिरिक्त प्रहरी उपरीक्षक मनोरञ्जन घोषले बताए । ब्रेकडाउनका कारण ट्रक सडकको छेउमा रोकिएको थियो र ट्रकको पछाडिको बत्ती बलेको थियो । बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । घटनालगत्तै विधाननगर थानाको प्रहरी पुगेर घाइते र मृतकलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *