३० वर्षदेखि ललितपुर महालक्ष्मीस्थानस्थित घरभित्र एकोहोरो जीवन बिताउन बाध्य छन्, भजनशिरोमणि भक्तराज आचार्य । २०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनको जीवनमा ठूलो बज्रपात पर्यो । हातले हार्मोनियमका रिडहरू फिट्न सके पनि स्वर र सुर हरायो । आफूले गाएका करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीतलाई साक्षी राखेर उनको जीवन बेसुर बन्यो । सुरमा पकड भएका विशेष गायक भनेर प्रशंसा पाइरहेको उर्वर समयमै क्यान्सरले उनको जिब्रो काटिनु नेपाली संगीतका निम्ति एउटा सुर हराउनुजस्तै हो ।
२०७७ साल मंसिर १५ गते बिहान साढे ११ बजे उनको घर पुग्दा उनी पिंढीमा उठीउठी एक सुरले हातमा तातो पानी खन्याइरहेका थिए । अन्तर्वार्ता गर्छु भनेर १० वर्षदेखि गरिएका अनेक कोसिस आज यथार्थ बन्दै थियो । यसपालि भेट्दा भक्तराज आचार्य अलि हँसिला र स्वस्थ देखिए । नबुझिने कुरा उनका ज्येष्ठ सुपुत्र सत्यराजलाई भन्न लगाएर नसोध्नुपर्ने तर सोध्न मन लागेका कुरा उनलाई सोधेको छु । छेउमै छिन्, उनकी धर्मपत्नी सुशीला आचार्य ।