प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हैदराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका लागि हैदराबाद हाउस आइपुगेका हुन् । पाँचौं पटकको प्रधानमन्त्रित्वकालमा देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
दुईपक्षीय भेटवार्तापछि केही बेरमा दुवै देशका प्रधानमन्त्रीले नेपाली रेलको उद्घाटन कार्यक्रम गर्ने तयारी छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि नेपाल रेल्वे कम्पनीको रेल गुड्ने छ ।
शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भ्रमणको सुरुवात सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयबाट गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए ।
उनले त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डालगायतका प्रतिनिधिसँग भेटघाट गरेका थिए । त्यस्तै शुक्रबार नै उनीसँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटघाट गरेका थिए भने साँझ नेपाली दूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।