सरकारी अस्पतालहरूले लागू गर्न थाले कोरोना उपचार खर्च बिरामीलाई तिराउने निर्णय

सरकारी अस्पतालहरुले कोभिड-१९ संक्रमित बिरामीको उपचार खर्च नव्यहोर्ने निर्णय सोमबारदेखि लागू गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको नियमित पत्रकार सम्मेलनमा बताएका थिए । अस्पतालहरुले यही निर्णय कार्यान्वयन गर्न थालेका हुन् ।  

काठमाडौंस्थित सिभिल अस्पतालले सोमबार एक सूचना जारी गरी संक्रमितहरूले आफैंले उपचार खर्च र खाना खर्च बेहोर्नुपर्ने बताएको छ । ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार यस अस्पतालमा कोराना संक्रमण भई उपचाररत बिरामीहरुले कात्तिक २ गतेदेखि लागू हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले बेहोर्नुपर्ने जानकारी गराइन्छ । खाना अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

अस्पतालका निर्देशक डा. दीर्घराज आरसीले यो नियम सोमबारदेखि लागू भएको कान्तिपुरलाई जानकारी दिए । ‘पहिला त हामीले निःशुल्क नै गरेका हौं नि, सरकारले यो निर्णय गरेपछि लागू गरेको हो,’उनले भने ।

वीर अस्पतालले पनि यो निर्णय छिट्टै लागू हुने जनाएको छ । ‘सरकारको निर्णयअनुसार छुट्याइएको समूहबाहेक अरुको उपचार नब्यहोर्न भनिएको छ सम्भवतः भोलिदेखि लागू हुन्छ होला,’ अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले भने ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले भने यो निर्णयको लागि स्पष्ट गाइडलाइन तयार भएमात्र भविष्यमा लागू हुनसक्ने बताए ।

उनले भने,‘अहिले सरकारले बिरामीको अवस्थाअनुसार उपचारको दैनिक भत्ता दिइरहेको छ अनि हामीले किन बिरामीलाई तिराउने ?’ उनले सक्ने व्यक्तिहरुले महंगो औषधि किन्न पैसा भने तिर्दे आएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायतको मात्रै लक्षण देखिएको खण्डमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी गराएको छ । मन्त्रालयका अनुसार जसले कोरोना बीमा गरेका छन् र उनीहरुको उपचार खर्च बीमा रकमबाट काटिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *