फिल्मको रिलिज मिति घोषणा गर्दै बलिउड

देशमा दैनिक साढे ३ लाखसम्म पुगेको कोरोना संक्रमितको संख्या विस्तारै घट्न थालेको छ। अहिले दैनिक संक्रमितको संख्या दुई लाखभन्दा तल छ। दिल्लीमा लगाइएको कफ्र्यु हटाउने तयारी राज्य सरकारले गरेको छ। योसँगै चलचित्रका निर्माताहरुमा समेत आत्मविश्वास बढेको देखिन्छ । एक महिनाअघि धमाधम स्थगित भएका महँगा बजटमा बनेका चलचित्रका निर्माताहरुले नयाँ प्रदर्शन मिति तय गर्न थालेका छन् । यसले निर्माताहरु फेरि लयमा फर्किन थालेको छ र कोरोना महामारीको तेस्रो चरण चाँडै नै सकिने निष्कर्षमा पुगेको बुझ्न सकिन्छ । निर्माता तथा निर्देशक सञ्जयलीला भन्सालीले आफ्नो नयाँ चलचित्र गंगुबाई काठियावाडीको प्रदर्शन मिति २५ फरवरीलाई तोकिसकेका छन् ।

उनी अबको २५ दिनमा देशका अधिकांश हल खुल्ने कुरामा विश्वस्त देखिन्छन्। यो चलचित्रमा आलिया भट्ट मुख्य भूमिकामा छिन् । जनवरी ७ लाख प्रदर्शन मिति तोकेर करोडौं रुपियाँको प्रचार गरिसकेको साउथको चलचित्र आरआरआर को नयाँ प्रदर्शन मिति २५ मार्चलाई तोकिएको छ। एसएस राजामौलीको निर्देशनमा तयार भएको यो चलचित्र ७ जनवरीबाट पछि सरेको थियो तर यसका निर्माताले पनि महँगो बजटमा बनेको चलचित्रलाई २५ मार्चमा रिलिज गर्ने घोषणा गर्नुले उनको आत्मविश्वास झल्किएको छ। चलचित्रमा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगण मुख्य भूमिकामा छन् । यस्तै साउथका सुपरस्टार पवन कल्याणको नयाँ चलचित्र भिम्ला नायकको प्रदर्शन मिति २५ फरवरी र १ अप्रेललाई तोकिएको छ । तेलुगू सुपरस्टार महेश बाबुको नयाँ चलचित्र सरकारु भारी पट्टाको प्रदर्शन मिति १२ मईलाई तोकिएको छ।

यस्तै साउथका सुपरस्टार चिरञ्जीवी र रामचरणको नयाँ चलचित्र आचार्यको प्रदर्शन मिति २९ अप्रेललाई तोकिएको छ। अभिनेता अक्षय कुमारको नयाँ चलचित्र बच्चन पाण्डेको प्रदर्शन मिति १८ मार्चलाई तोकिएको छ। यसैगरी कार्तिक आर्यनको भुलभुलैया २ को प्रदर्शन मिति २५ मार्चलाई तोकिएको छ। चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने कुरामा बलिउडका भन्दा साउथका निर्माता अगाडि देखिएका छन्। १४ अप्रेलमा साउथ चलचित्र केजीएफ २ र बलिउड चलचित्र लाल सिंह चड्डा रिलिज हुने पक्का भइसकेको छ। सफल मेकरहरु कोरोनाको तेस्रो लहर लामो समय नजाने कुरामा विश्वस्त देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *